शान्ति तिवारी
जेष्ठ २८ ।
नवलपरासी। नवलपरासीका एकजना युवकको भारतबाट घर फर्किदै गर्दा मृत्यु भएको छ । भारतको मुम्बइबाट रुपन्देहीको सीमावर्ती बजार सुनौली आइपुगेका नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नं २ का अन्दाजी ३२ वर्षका युवाको मृत्यु भएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
उनले भारतबाट आउँदै गरेका ती युवा रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बेहोस भएर पल्टिएको र त्यहीँ मृत्यु भएको बताए । उनको शव भारतीय भूमिमै रहेको छ ।
उनको पीसीआर परीक्षण गरेर रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको काम अघि बढ्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनका अनुसार भारतमै परीक्षण गरेर रिपोर्ट पोजेटिभ आएमा भने भारतमै शव व्यवस्थापन हुनेछ भने नेगेटिभ आएमा मात्रै नेपाल ल्याएर परिवारको जिम्मा लगाइनेछ ।