दुबई, असार ८ । दुबईले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ। यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो। तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ। त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ। दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको थियो।
त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको छ। त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो। यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पीसीआर परीक्षण गराइने छ। यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्नेछ।












