काठमाडौं २०२० टोकियो ओलम्पिकअन्तर्गत एसियाली छनोटको दोस्रो खेलमा नेपालले बलियो टोली म्यानमारलाई बराबरीमा रोकेको छ। म्यानमारको याङ्गुन स्थित थुनुवा रंगशालामा आइतबार सम्मपन्न खेलमा नेपालले फिफा वरियतामा आफुभन्दा ६४ औं स्थानमाथि रहेको टोली विरुद्ध उत्कृष्ट खेल पस्केको हो। बराबरीसँगै नेपालले दोश्रो चरण प्रवेशको सम्भावना जिवितै राखेको छ। म्यानमार एएफसी च्याम्पियनसिपमा सन् २०१३ मा चौथो र सन् २०१६ मा तेस्रो भएको टोलीसमेत हो। नेपालले भने एसियाली फुटबलमा त्यस्तो किसिमको सफलता प्राप्त गर्न सकेको छैन। नेपालले म्यानमार विरुद्ध खेलको दोश्रो मिनेटमै अग्रता बनाएपनि १३ औं मिनेटमा बराबरी गोल खान पुग्यो। नेपालकी सावित्रा भण्डारीलाई विपक्षी टोलीकी खेलाडीले डिबक्स एरियामा लडाएपछि पाएको पेनाल्टीमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्, तर खेलको १३ औं मिनेटमा कर्नर मार्फत तर खिन मो वाईले बराबरी गोल फर्काइन्। पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको थियो। दोश्रो हाफमा दुवै टोलीले उत्कृष्ट खेल पस्कदैं पाएका केहि अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकियो र दुवै टोलीले एक एक अंक बाँडे। यसअघि भारत विरुद्ध भएको पहिलो खेलमा समेत नेपालले एक एकको बराबरी खेलेको थियो भने आयोजक म्यानमारले बंगलादेशमाथि ५–० को फराकिलो जित निकालेको थियो।










