प्युठान । बाँदर धपाउन खोज्दा हानेको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ । गोली लागेर नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।बन्दुक चलाउने हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।









