कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीले आगो लगाए !

प्रकाशित मिति:

चितवन, २८ कार्तिक । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेका छन् । आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ ।

मंगलवार साँझ पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगि कार्यालयभित्र नै बालेका थिए । प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उनीहरुले विश्वविद्यालयका झ्यालका सिसासमेत फुटाएर क्षति गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको छ ।

दुई वर्षअघि मात्रै सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जनालाई छाडिएको छ ।

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका नाममा पनि विश्वविद्यालयमा पटकपटक तालावन्दी गरिएको छ ।