शान्ति समाज रुपन्देहीको आग्रह ‘शान्ति प्राप्तिका लागि आणविक अस्त्र निषेध गर्नुपर्छ’
बुटवल – अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बिहिबार मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले प्लेकार्ड सहित बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । आणविक होडका बिरुद्ध समाजले बिहिबार बिहान बुटवलको अस्पताल लाईनमा प्रदर्शन गरेको हो ।
आणविक होडमा रहेका देशहरुलाई दवाव दिने उद्देश्यले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिएको समाजका जिल्ला शाखा रुपन्देहीका सभापति डिपि खनालले जानकारी दिनुभयो ।

आणविक अस्त्र रहेसम्म धर्तीमा कोही पनि सुरक्षित हुन नसक्ने भएकाले आणविक अस्त्रको होड गरेका देशहरुलाई दवाव दिनको लागि आयोजना गरिएको कार्यक्रममा युद्ध रोकौ, शान्ति प्रवद्घन गरौँ, युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ, युद्ध निषेध, शान्ति विशेष, आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाईदैन लगायतका प्ले कार्ड प्रदर्शन गरिएको थियो ।
मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौ स्थित ९ वटा शक्ति राष्ट्रका दुतावास अंगाडी सहित ७७ वटै जिल्लामा एक साथ प्रदर्शन गर्ने कार्यक्रम अनुसार जिल्लामा पनि प्रदर्शन गरिएको हो ।









