राजसंस्थाको माग गर्दै आज पनि रुपन्देहीमा प्रदर्शन हुंदै , शिव सेना नेपालका केन्द्रीय अध्यक्षले सम्बोधन गर्ने

प्रकाशित मिति:

बुटवल । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै देशभर विभिन्न संघसंस्थाले प्रदर्शन जारी राखेका छन् । यसै क्रममा आज (शुक्रबार) पनि रुपन्देहीमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल तथा कार ¥याली प्रदर्शन हुन लागेको छ ।

भलबारीबाट दिउसो १ बजे शुरु हुने प्रदर्शन बुद्धचोक, लुम्बिनी रोड,गल्लामण्डी,मिलनचोक,देवकोटाचोक हुंदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन हुने आयोजक शिव सेना नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । शिव सेना नेपालले कार्यक्रमको संयोजन गरेपनि ब्यानरमा भने रुपन्देहीबासी जनतालाई आयोजक भनिएको छ । यालीमा सहभागी हुनेहरुले राष्ट्रिय झण्डा मात्रै बोक्ने शिव सेना नेपालका केन्द्रीय सदस्य अनिल जैसवालले बताए ।

राजसंस्था नहुंदा मुलुकको राष्ट्रियता संकटमा परेको र विदेशी हस्तक्षेप बढेको, भ्रष्टाचारले सीमा नाघेको र संघीयताको नाममा मुलुक झन् कमजोर बनेको हुंदा राष्ट्रियता जोगाउन राजसंस्था पुनःस्थापनाको लागि जनतामा जागरण ल्याउन प्रदर्शन अभियान थालिएको जैसवालको तर्क छ ।  कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका रुपन्देही अध्यक्ष विपिन मल्लिकले बताए । प्रदर्शनमा हजारौं राष्ट्रप्रेमी जनता स्वतःस्फुर्तरुपमा सहभागी हुने अपेक्षा गरिएको शिव सेना नेपालकै नारायण अर्यालले बताए ।