राम अवतार चौधरी कपिलवस्तु, २६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले रिफ्रेस सेन्टर संचालनमा आएपछि सवारी दुर्घटन न्युनिकरण हुने बताएका छन् । प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शिवराज–५,चन्द्रौटामा बन्न लागेको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास गर्दै मन्त्री पोख्रेलले यस्तो बताएका हुन् । सवारी चाप रहेको क्षेत्रमा मुख्यतः चालकहरुलाई विश्रामको लागि अति उपयोगि हुने उनले जिकिर गरे ।
प्रदेश सरकारले पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न ठाउँहरु रिफ्रेस सेन्टर बनाउने कामलाई अगाडी बढाएकोले यसको सहि सदुपयोग गर्न आग्रह गरेका छन् । राजमार्गको छेउछाउमा देखिने फोहोर मैलाले गिज्याइरहेको बेला प्रदेशको यस्तो अबधारणले योजनाले नयाँ युगको स्वच्छ र सभ्य समाज निर्माणमा सहयोग पुग्ने मन्त्री पोख्रेलले जनाए । लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तु जिल्लामा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको बताउँदै शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरिय सरुवा रोग निर्माणको काम अघि बढेकोले यहाँका नागरिकहरुलाई उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटने पोख्रेलले बताए । प्रदेशको स्थायी राजधानी सँग जोडिएको शिवराज नगरपालिका र कृष्णनगर नाकाको मुख्य केन्द्रबिन्दु चन्द्रौटा बन्ने बताए । राजधानीको फाईदा चन्द्रौटावासीहरुलाई हुने भएकोले आर्थिक अवस्थालाई उकास्न मद्धत पुग्ने विश्वास व्यक्त समेत रहेको जानकारी दिए । पर्यटकिय हिसावले कपिलवस्तु प्रदेशकै उत्कृष्ट रहेकोले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाए । उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएकोले अब विकास भएन भन्न नमिल्ले जिकिर उनले गरे । कपिलवस्तु जिल्लामा सिँचाईका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनहु डाइभर्सन योजनाले पूर्ण रुपमा सिँचाई गर्न सकिने बताए । मुख्यमन्त्री पोख्रेलले लुम्बिनी प्रदेश सरकारले कृषक र उद्यम गर्न चाहानेहरुका लागि बैक ब्याज सरकारले तिरिदिने भएकाले यसको लाभ लिन जिल्लावासी अग्रसर भएर लाग्न जरुरी रहेको जनाए । भौतिक पुर्वधार तथा विकास मन्त्री बैजनाथ चौधरीले अब लुम्बिनी प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउमा फोहोरमैला देख्नुपर्ने बाध्यता रहेको बताए । अहिले सम्म सवारी साधानहरु जंगल प्रवेश गर्दा वित्तिकै दिशापिसाब गर्न रोक्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरले हटाएको मन्त्री चौधरीले जनाए । उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले रिफ्रेस सेन्टर निर्माणले वातावरण प्रदुषण कमि हुने जनाए ।
वातावरण संरक्षण र विकास निर्माणमा एक आपसमा द्धन्द भएकोले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने उनले बताए । प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डेले कपिलवस्तु पछाडि परेको जिल्ला भएपनि अहिलेको सरकारले अग्र भागमा ल्याउन विभिन्न कामहरु गरिरहेको बताए । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । कपिलवस्तु जिल्ला हरेक दृष्टिकोणले पछाडि परेकोले अहिले सरकारले गौरवका योजनाले माथि उकास्न सहयोग पुग्ने बताए । रिफ्रेस सेन्टर दुई वर्ष भित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु ३ करोड ६४ लाख लागतमा भिमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण गर्ने जिम्मा पाएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने छन् ।









