बुटवल जेसीजको अध्यक्षमा गोपाल चापागाई निर्वाचीत

प्रकाशित मिति:

बुटवल जेसीजको आगामी एक वर्षे कार्यकालको लागी अध्यक्षमा गोपालप्रसाद चापागाई निर्वाचित हुनु भएको छ । शनिबार बुटवलमा सम्पन्न बुटवल जेसीजको वार्षिक साधारण सभा तथा अधिवेशनबाट चापागाई अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको हो ।अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा महेश पाण्डे र अर्जुन गौतम, चार उपाध्यक्ष पदमा मोहन न्यौपाने, गोपाल न्यौपाने, अमरबहादुर खत्री र आविश्कार खनाल निर्वाचित हुनु भएको छ । त्यस्तै सहसचिवमा लेखनाथ पाण्डे र सहकोषाध्यक्षमा शशिराज वेलवासे निर्बिरोध निर्वाचित हुनु भएको बुटवल जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन समितिका संयोजक नरदेव न्यौपानेले जानकारी गराउनु भयो ।

बुटवल जेसीजको बिधान अनुसार महासविच, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था छ । सोही अनुसार महासचिवमा बिनोद घिमिरे र कानुनी सल्लाहकारमा हरिबिक्रम कुवरलाई अध्यक्ष चापागाईले मनोनित गर्नुभएको छ भने कोषाध्यक्ष पदमा पछि मनोनित गर्ने जानकारी दिनुभयो । साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले जेसीजले लिएको मुलमन्त्र बिधिको शासन स्थापित गर्नको लागि आफू पनि आफ्नो ठाउँबाट लागिपरेको बताउनु भयो । उहाँले आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर लागिरहनु पर्ने बताउँदै बिधिको शासन कायम गर्नको लागि जेसीजले आफ्नो अभियानलाई निरन्तर अंगाडी बढाईरहन आग्रह गर्दै त्यसमा आफ्नो साथ र समर्थन सधै रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष राजिव गौतमले आफ्नो कार्यकाल सुरु भएसंगै अंगाडी सारिएका योजना कार्यान्वयनकै समयमा कोरोना भाईरस महामारी सुरु भएकोले सोंचेजती काम गर्न नसकिएको बताउनु भयो । उहाँले कोरोना भाईरस महामारीकै बिच पनि जेसीजले अंगाडी सारेका योजना तथा युवामा नेतृत्व तथा व्यक्तित्व बिकासका कार्यक्रमलाई निरन्तरता दिईएको जानकारी गराउनु भयो ।कार्यक्रममा नेपाल जेसीजका कानुनी सल्लाहकार तथा बुटवल जेसीजका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, बुटवल जेसीजका पूर्व अध्यक्षहरु विन्ध्याकेशर जोशी, गणेशचन्द्र पोखरेल, बुटवल महिला जेसीजकी अध्यक्ष कल्पना पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सञ्चालन महासचिव हरिबिक्रम कुवँरले गर्नुभएको थियो ।