काठमाडौं– प्रेम कथामा आधारित फिल्म ‘माया बस्छ कि के हो’ को फर्स्टलुक पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको फिल्मको राजधानीमा आयोजित प्रेसमिटमा फर्स्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको हो । नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टरमा उनीहरुलाई नै केन्द्रमा राखिएको छ ।
शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन् । हल खुलेपछि प्रदर्शन मिति तय गरिने फिल्मको एसोसिएट डाइरेक्टरमा आशुतोष अधिकारी र मुख्य सहायक निर्देशकमा दीपक अधिकारी छन् । कार्यक्रममा निर्देशक अधिकारीले आफूहरु गुणस्तरिय फिल्म निर्माणको पक्षमा रहेको बताउँदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको दावी गरे । उनले कथाको मागअनुसार नै फिल्म बेल्जियम,स्वीजरल्याण्ड, र नेदरल्याण्डका बिभिन्न स्थानमा खिचिएको जानकारी दिए ।
त्यसैगरी, प्रस्तुतकर्ता शरदले बिशेषत युवा पुस्तालाई लक्षित गरिएको भए पनि फिल्मले आम दर्शकको मन छुनेमा आशावादी रहेको बताए । डेब्यु अभिनेता सोनालले आफूले भरपुर मिहीनेत गरेको बताउँदै यो फिल्मले आफूलाई अभिनेताका रुपमा स्थापित गराउने बिश्वास ब्यक्त गरे ।अभिनेत्री कस्मताले पनि ‘माया बस्छ कि के हो’ बाट आफूले अभिनेत्रीका रुपमा माया पाउने आशा ब्यक्त गरिन् । चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उनले सरकारले छिट्टै नै हल खुलाउने तयारी गरिरहेको जानकारी दिदै फिल्म र टिमलाई शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेती, महासचिव जनकदीप पराजुलीलगायतले पनि फिल्मलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए । प्रेस मिटमा प्रदर्शन गरिएको ‘माया बस्छ कि के हो ’बोलको शीर्ष गीत शुक्रबार साइराम पिक्चर्सको युट्यवमार्फत सार्वजनिक हुने जानकारी दिइएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको उक्त गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । गीत बेल्जियम,स्वीजरल्याण्ड र नेदरल्याण्डका बिभिन्न स्थानमा रबिन्द्र बरालले खिचेका हुन् । बिपीन मल्लले सम्पादन गरेको फिल्ममा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।












