काठमाडौं – स्वास्थ्य अधिकारीहरुले भारतमा कोभिड विरुद्धको खोप आगामी जनवरी महिनादेखि सुरु हुने दाबी गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा भारतीय स्वास्थ्य अधिकारीले आगामी केही साताभित्रै खोपको आपातकालीन प्रयोगका लागि स्वीकृति दिने तयारी गरिएको जनाएका छन् । बीबीसीका अनुसार भारतको दुईवटा कम्पनीले खोपको आपातकालीन प्रयोगका लागि अनुमति माँगेको र छ वटा खोप क्लिनिकल ट्रायलमा रहेका छन् । अगष्ट महिना अघिसम्म करिब ३० करोड सर्वसाधारणमा खोप लगाइने तयारी गरिएको छ । भारतमा हालसम्म करिब एक करोड ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
एक लाख ४४ हजारले ज्यान गुमाएका छन् । बेलायतको आष्ट्राजेनेका कम्पनीसँगको समन्वयमा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र भारत मेडिकल अनुसन्धान परिषद्सँगको समन्वयमा भारत बायोटेकले उत्पादन गरेको कोभाक्सिनले आपातकालीन प्रयोगका लागि अनुमति माँगेको छ । भारतमा हाल अहमदाबादस्थित जाइडस काडिला औषधि निर्माताले जाइकोभ डीको परीक्षण गरिरहेको छ । हैदराबादस्थित बायोलोजिक इले एमआईटीसँगको समन्वयमा तयार गरिरहेको खोप समेत परीक्षणमा छ । बायोलोजिकल इ भारतको पहिलो नीजि कम्पनीले उत्पादन गरिरहेको कोभिड विरुद्धको खोप हो ।
एचजीसीओ १९, भारतको पहिलो एमआरएनए खोप हो । पुनेस्थित जिनोभाले सिटलस्थित एचडीटी बायोटेक कर्पोरेशनसँगको समन्वयमा अनुवाशिंक कोड राखेर खोप विकास गरिरहेको छ । भारत बायोटेकले समेत छुट्टै खोप बनाउँदैछ । गेमेलिया नेशनल सेन्टरले उत्पादन गरेको रुसको स्पुतनिक भी भारतकै रेडिज प्रयोगशालाले उत्पादन गरिरहेको छ । अमेरिकाको नोभाभाक्ससँगको समन्वयमा सिरम इन्स्टिच्युटले छुट्टै खोप उत्पादन गरिरहेको छ । आठ मध्ये चारवटा खोप भारतीय कम्पनीले स्वतन्त्र रुपमा विकास गरिरहेको छ ।
भारतीय स्वास्थ्य अधिकारीहरुले अमेरिका, जर्मनी र बेलायत तथा रुसले उत्पादन गरेको खोपको लाखौं डोज खरिद गर्न भारतले सम्झौता गरेको समाचारको समेत खण्डन गरेका छन् । उनीहरुका अनुसार भारतमा विकास भइरहेको खोपको प्रभाबकारिता सन्तोषजनक रहेकोले अन्य राष्ट्रमा निर्भर हुने छैन् । उनीहरुले सरकार स्थानीय र अन्तर्राष्ट्रिय खोप निर्मातासँग सम्पर्कमा रहेको, भारतलाई आवश्यक संख्या र भारतको उत्पादन क्षमताबारे छलफल गरिरहेको बताएका छन् । उनीहरुका अनुसार भारतको सिरम इन्स्टिच्युट र भारत बायोटेक दुबैले एक महिनाभित्र कम्तिमा छ करोड ५० लाख डोज उत्पादन गर्ने क्षमता राखेका छन् ।
अधिकारीहरुले भारतले जनवरीदेखि सुरु गरी अगष्ट सुरुवातसम्म करिब ३० करोड सर्वसाधारणलाई खोप लगाउने तयारी गरिरहेको जनाएका छन् । सुरुमा एक करोड स्वास्थ्य कार्यकत्र्ता, सिपाही, नगर निगमका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप वितरण गरिनेछ । दोस्रो चरणमा पचास वर्षमाथि उमेरका ब्यक्तिमा खोप लगाइनेछ । भारतले चार करोड नवजात शिशु र गर्भवती महिलालाई विभिन्न १२ रोग विरुद्धको खोप वार्षिक रुपमा लगाउँदै आएको छ । जुन विश्वकै सबैभन्दा ठूलो निर्मलीकरण कार्यक्रम हो ।
खोप वितरण गर्न दुई लाख २३ हजार मध्ये एक लाख ५४ हजार नर्स र महिला स्वयंसेवीलाई परिचालन गरिनेछ । नर्सिङ्ग अन्तिम वर्षमा अध्ययनरत छात्राहरुलाई समेत स्वयंसेवीको रुपमा परिचालन गरिनेछ । खोप भण्डारण गर्न देशभरिका २९ हजार शितघर प्रयोग गरिनेछ । प्रत्येक खोपलाई दुईदेखि आठ डिग्री सेल्सियस तापक्रम आवश्यक हुँदा सोही बमोजिम भण्डार गृह तयार गरिदैछ । त्यसैगरी माइनस ८० डिग्री सेल्सियससम्मको शितघरसमेत भारतको कर्नाटका, पश्चिम बंगाल र हरियाणामा उपलब्ध छन् । उक्त शितघर हाल कृषि उत्पाद र पशुपालनमा प्रयोग गरिन्छ । बिबिसी










