कुंवरवर्तीमा नगरस्तरीय अन्तर मावि भलिबल शुरु

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ माविमा शनिवारदेखि प्रथम तिलोत्तमा नगरस्तरीय अन्तर मावि छात्र–छात्रा भलिबल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरीदेवी चौधरीले बेलुन उडाएर उद्घाटन गरिन् । सो अवसरमा बोल्दै चौधरीले स्वास्थ्यका लागि मात्र नभई खेललाई आर्थिक रुपमा समेत जोड्नु पर्ने बताइन । तिलोत्तमाले खेलको बिकास तथा खेलाडीहरुको उत्पादन गरि आर्थिक समृद्धिसँग जोड्नका लागि पर्याप्त बजेटको व्यवस्था गरेको बताइन् । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ विद्यालयको सहभागिता रहेको छ ।

शनिबार छात्रतर्फ पहिलो चरणका ६ खेल सम्पन्न भएका छन् । जसमा लिटिल प्याराडाइज बोर्डिङ स्कूल,गौतमबुद्ध मावि,गिर्वाण मावि,सेन्ट जोसेफ मावि,शिवपुर मावि र टिकुलिगढ मावि विजयी हुंदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । छात्रतर्फको प्रि क्वाटर फाइनल खेलहरु आइतबार बिहान ८ बजेदेखि शुरु हुने विद्यालयका प्राचार्य दीपक खनालले जानकारी दिए । यस्तै शनिबार नै भएको छात्रातर्फ भएको खेलमा विजयी हुंदै कुंवरवर्ती बोर्डिङ स्कूल, होराइजन जीबीएस, र नव ज्योति बोर्डिङ स्कूल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा छात्र र छात्रा दुबै टिमले समान ३० हजारका दरले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र तथा तृतीय हुने विद्यालयले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षता र विद्यालयका प्राचार्य दीपक खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डे,नेकपा नगर सचिव लक्ष्मण खनाल,वडा नंं ८ का अध्यक्ष कृष्ण पौडेल,नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले मन्तव्य राखेका थिए । प्रतियोगिता सोमबारसम्म चल्ने छ ।