नेपाल बाल संगठन रुपन्देहीको साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले साजन भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको सदस्यहरुमा दिपक चापागाई, कल्पना पाँडेमगर, अन्जु श्रेष्ठ, सुनिल खनाल, सुरज कलवार, तारा पुरी र शेषकान्त भण्डारी चयन भएका छन् । उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने कार्यसमिति बैठकले मनोनित गर्नेछ । साधारणसभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले बालबालिकाको हकहितका क्षेत्रमा दृढ भएर लाग्न आग्रह गरे । विभिन्न कारणले अभिभावकबिहीन बन्न पुगेका बालबालिकाहरुको हक हितको रक्षा र अभिभावकत्व प्रदान गर्न र ती बालबालिकाको संरक्षण गर्नेगरी प्रभावकारी काम गर्न उनले सुझाव दिए ।
साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सभापति साजन भण्डारीले बालमन्दिरको भैरहवा शाखामा ३७ र बुटवल शाखामा ३२ जना बालबालिका अध्ययनरत रहेको जानकारी गराउँदै सडकमा देखिएका अनाथ बालबालिकाहरुको खोजी गरी जीवनयापनमा सहजता ल्याइने बताए । उनले बाल संगठनको कार्यालय र विद्यालयको कक्षाकोठा स्तरोन्नति गर्नुपर्ने, भवन मर्मत तथा रंगरोगन गर्नुपर्ने, शौचालय बालमैत्री र व्यवस्थित हुनुपर्ने, बाल संगठनको हाताभित्र सरसफाई, फूलबारी, वर्षातको पानीको निकास र कम्पाउण्डवालको स्तरोन्नती गर्नुपर्ने, स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, कर्मचारीलाई प्रोत्साहन गर्न सेवासुविधा बिस्तार गर्नुपर्ने लगायतका माग गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता राजेन्द्र ढकाल, नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजू, कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्य, बाल संगठनका जिल्ला सदस्य दिपक चापागाई, कल्पना मगर लगायतले बोलेका थिए ।