हरिवोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा श्रद्धालुहरुको घुईचो

प्रकाशित मिति:

विगत वर्षहरुमा भन्दा यस पटक हरिवोधनी एकादशीको अवसरमा सोमवार गुल्मीको धार्मिक स्थल रेसुङ्गा पोखरीमा स्नान गर्न जाने श्रद्धालुहरुको दिनभर घुईचो लागेको छ । कात्तिक महिनाको सोमवार र त्यसमा पनि हरिवोधनि एकादशि परेको कारण विहानैदेखि गुल्मी लगायत पाल्पा वाग्लुङ्ग, अर्घाखाँची, स्वाङ्जा लगायतका जिल्लाहरुवाट समेत श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको छ । हरिवोधनी एकादशीको दिन रेसुङ्गा पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्ट हुने र संवृद्धि समेत प्राप्त हुने धार्मिक विश्वासका कारण रेसुङ्गा पोखरीमा वर्षेनी स्नान गर्न जाने श्रद्धालुहरुको घँुईचो लाग्ने गर्दछ । चारधामवाट ल्याएको जल उक्त पोखरीमा राखिएको भन्ने मान्यता रहि आएको हुँदा श्रद्धालुहरु पोखरीमा स्नान गरेपछि यज्ञशाला मन्दिरमा गएर पुजाआजा गर्ने प्रचलन छ । पोखरीसम्म मोटरवाटो पुगेका कारण धेरै मानिसहरु यातायातको माध्यमवाट सहज तरिकाले रेसुंगा पोखरिमा पुगेका छन् ।
पोखरी र मन्दिर परिशर वरिपरि रेसुङ्गा संरक्षण समितिले व्यापारीहरुलाई माछा मासु र मादक पदार्थ विक्रि वितरणमा रोक लगाएको छ । ठुलो एकादशीको रुपमा समेत चिनिने हरिवोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वको रुपमा लिने गरिन्छ । रेसुङ्गा पोखरीमा विगतमा भन्दा यसपटक श्रद्धालुहरुको निकै घुँईचो लागेको थियो ।
त्यसैगरि गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकि र रुद्रवेणी धाममा पनि सोमवार दिनभर नदीमा स्नान गरि पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जा गरि तीन जिल्लाको संगम स्थल मानिने काली गण्डकिमा स्नान गरेपछि मोक्ष प्राप्ती हुन्छ भन्ने मान्यता रहि आएको छ ।