काठमाडौं– सेफर्ड कलेज काठमाडौंले सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को नव निर्वाचित कार्य समितिलाई सोमबार स्वागत तथा सम्मान गरेको छ। कार्यक्रममा बोल्दै कलेजका कार्यकारी निर्देशक तरुण प्रताप शाहले अकोराव र सेफर्डबीचको सम्बन्ध अगाडि देखिनै नजिक रहेको बताउँदै आगामी दिनमा थप समन्वय र सहकार्य हुने कुरामा आफूले विश्वास लिएको बताएका थिए ।

‘अकोराव आफैमा सयौं सामुदायिक रेडियोलाई नेतृत्व गरेको संस्था हो, सेफर्डले वर्षौ देखि संचार क्षेत्रकोलागि दक्ष जनशक्तिको उत्पादन गर्दै आइरहेको छ’ उनले भने, ‘यसले पनि हाम्रो सम्बन्धलाई दीगो र निरन्तर बनाउनको लागि भूमिका खेलेको छ, भोलीका दिनमा अझै यो सम्बन्धलाई प्रगाढ बनाउन कलेज सधै प्रतिवद्ध छ ।’कार्यक्रममा कलेजका कार्यवहाक क्याम्पस प्रमुख कविता शर्माले कलेजको बारेमा जानकारी दिएकी थिइन् ।कार्यक्रममा अकोरावका नयाँ कार्य समितिका अध्यक्ष अर्जुन गिरी, बरिष्ठ उपाध्यक्ष विष्णुदत्त अवस्थी, उपाध्यक्ष निमेश कर्ण, उपाध्यक्ष भुवन सिंह, महासचिव किशोरजंग थापा, सचिव सुदर्शन खतिवडा, कोषाध्यक्ष सरोज पौडेल, सदस्य बालकुमार शर्मा लगायतको उपस्थिति थियो ।












