काठमाडौं । माल्दिभ्समा नयाँ सरकारसँगै चीनको माल्दिभ्समाथिको कूटनीति असफल भएको देखिएको छ। पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनको पालामा चीनले बढाएको प्रभाव अब बिस्तारै कम हुँदै गएको देखिएको हो। माल्दिभ्सको गठबन्धन सरकारका प्रमुख पार्टीका नेताले चीनसँगको स्वतन्त्र व्यापार सम्झौताबाट बाहिरिने बताएका हुन् ।
दुई पक्षको बीचमा भएको स्वतन्त्र व्यापार सम्झौतामा चीनको मात्र स्वार्थ रहेको भन्दै माल्दिभ्सका नेताले यो सम्झौताबाट बाहिरिने बताएका हुन् । गठबन्धनको नेतृत्व गरेको माल्दिभियिन डेमोक्रेटिक पार्टीका प्रमुख मोहम्मद नसिदले अत्यधिक व्यापारिक असन्तुलन रहेको अवस्थामा चीनसँग व्यापारिक सम्झौता गरिनु ठुलो गल्ती रहेको बताएका हुन् ।
माल्दिभ्सबाट चीनले कुनै सामग्री खरिद नगर्ने गरेको कारण यो सम्झौता एकपक्षीय रहेको उनको भनाइ छ। गत डिसेम्बर महिनामा पूर्व राष्ट्रपति यामिनको चीन भ्रमणको क्रममा यस किसिमको सम्झौता भएको थियो ।जतिबेला माल्दिभ्सको संसदमा देखिएको विभिन्न समस्याको बाबजुद यो प्रस्ताव पारित भएको थियो ।
एजेन्सी












