कोरोना अस्पतालमा अक्सिजन अभाव

प्रकाशित मिति:

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव भएको छ । अस्पतालमा केही घण्टाका लागि पुग्ने अक्सिजन मात्र रहेको र अक्सिजन आइनपुगे उपचार सेवा प्रभावित हुने अस्पताल प्रशासनले जनाएको छ । कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पहिले १ सय ५० सिलिण्डरले पुगिरहेकामा अहिले माग बढेर ५ सय सिलिण्डर पुगेपछि सप्लार्यसले आपुर्ती गर्न नसकेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

बुधवार सांझ ६० वटा मात्रै सिलिण्डर झरेको र अहिले १० वटा मात्र बांकी रहेको उनको भनाई छ । उक्त अक्सिजन १ देखि २ घण्टालाई मात्र पुग्ने उनले जनाए । अस्पतालले भेन्टिलेटर, आइसियु, अक्सिजन बेड गरी इमरजेन्सी बेड तथा भुइंमासमेत गरी बिरामीलाई अक्सिजनको सहायताले उपचार गराइरहेको छ । गौतमले यसबारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्रिलाई समेत जानकारी गराइएको बताए ।