प्रकाश न्यौपाने
नवलपरासी
बैशाख २३ । कोरोना संक्रमीत दिन प्रतीदिन बढिरहेका बेला पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले अक्सिजन सहितको १५ सैयाको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढ्न थालेपछि सुस्ता गाउँपालिकाले आफ्नै सकृयतामा १५ शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष वडा नम्बर ५ पक्लिहवा स्वास्थ्य चौकीका लागी बनेको नयाँ भवनमा तयार गरेको हो ।
कोरोना संक्रमण भएकाहरुको उपचारलाई मध्यनजर गर्दै अक्सिजन सहितको १५ शैयाको आइसोलेशन कक्ष तयार गरिएको गाउँपालिका अध्यक्ष पाण्डेयले बताउनुभएको छ ।
पालिकाले तयार गरेको आइसोलेशन कक्षमा मेडिकल टिम सहित आवश्यक पर्ने अक्सिजन, अन्य स्वास्थ्य सामग्री तथा औषधीको ब्यवस्था गरिएको छ । सामन्य अवस्थामा रहेका ब्यक्तिहरुलाई होम आइसोलेशनमा राख्ने र अवस्था केही गम्भिंर हुन थालेपछि पालिकाले निर्माण गरेको अक्सिजन सहितको आइसोलेशन कक्षबाट उपचार गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो ।
अत्यन्तै महत्त्वपूर्ण काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्किनै परेमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर मात्र निस्किन आग्रह गर्नुभयो।









