सबलपोष्ट- परासी, ३१ बैशाख । रामग्राम नगरपालिकाका प्रमुख चढ्दै आएको गाडी कोभिड संक्रमित बिरामी बोक्न प्रयोगमा ल्याइएको छ ।
कोरोना संक्रमितहरुले उपचारका लागि अस्पताल जान एम्बुलेन्स पाउन समस्या भइरहेको बेला नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रयोग गर्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीलाई शुक्रबारबाट एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइएको हो । ‘
कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै संक्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरप्रमुख गुप्ताले बताए । कोरोना संक्रमण अन्त्य नहुंदासम्म आफूले मोटरसाइकल वा अन्य सवारी साधनमा यात्रा गर्ने उनले बताए ।
नगर प्रमुखको उक्त गाडीले नगरभित्रका कोभिड १९ संक्रमितलाई निःशुल्करुपमा घरबाट आइसोलेसन सेन्टर वा स्वास्थ्य संस्थामा लैजाने गरी व्यस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले बताए ।नगरपालिकाले रामग्राम–४ जितपुरस्थित पाल्ही बहुमुखी क्यापसको भवनमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको र संक्रमितलाई औषधि वितरण गरिरहेको उपप्रमुख रम्भा कुंवरले बताइन् ।नगर प्रमुखको यो निर्णयले नगरवासीलाई सहज हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।









