सामाजिक सुरक्षा योजना शुभारम्भपछि मन्त्री विष्टले भने- ‘सुरक्षाको युगमा प्रवेश गर्‍यौं’

प्रकाशित मिति:

मंसिर ११, २०७५ काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजना लागू भएसँगै आजबाट नयाँ युगको शुरूवात भएको बताएका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भका लागि प्रज्ञा भवन कमलादीमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री विष्टले जनताको सुरक्षित भविष्यको युग शुरूवात भएको बताएका हुन् ।

‘नेपाल आजबाट नयाँ युगमा प्रवेश गरेको छ,’ मन्त्री विष्टले भने, ‘अनिश्चितता र असुरक्षाको अवस्थाबाट सुनिश्चितता र सुरक्षाको अवस्थातर्फ प्रवेश गरेका छौं ।’

यसको कार्यान्वयनले जनताको जीवनमा परिवर्तन ल्याउने उनको विश्वास छ ।

मन्त्री विष्टले यस योजनामा शारीरीक, भौतिक तथा मानसिक श्रम गर्ने सबै श्रमिकलाई समावेश गराउने बताए ।

साथै उनले नेपाल सरकारले हरेक वर्ष मंसिर ११ गतेको दिनलाई लाई सामाजिक सुरक्षा दिवसको रूपमा मनाउने निर्णय गरेको जानकारी पनि गराए ।

मन्त्री विष्टले यो कार्यक्रम ल्याउन शुरूबाटै योगदान गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

मन्तव्यको शुभारम्भमा मन्त्री विष्टले भनेका थिए, ‘एउटा दियो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदैछ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको शुरूवात हुँदैछ उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले, सामाजिक सुरक्षाको ।’