गजल : लेखक- पूर्ण भण्डारी पवित्रदीप
तिमीले सोंचेझैं प्रगति गर शुभकामना जन्मदिनको।
असिम मायाको ढुकुटी हौ कर शुभकामना जन्मदिनको।
तिम्रो सुस्वास्थ्य,स्वस्थ दीर्घायु,अात्मसम्मान्,सन्तुष्टिको
देवी देवतासँग माग्छु वर शुभकामना जन्मदिनको ।
जीवनका प्रत्येक पाइला पाइलामा हुने परीक्षाहरूमा
खरो उत्रिएर अब्बल ठहर शुभकामना जन्मदिनको ।
कतै बन्द संघार् हुन सक्छन्,कतै उग्र जंघार् हुन सक्छन्
सरलै उघार,सहजै तर शुभकामना जन्मदिनको ।
जन्मदिने,कर्म दिने अामा,बुबा,अाफन्त र सन्ततिमा
चौतर्फी ब्यवहारिक हर्ष छर शुभकामना जन्मदिनको।
दुःखमा सँगै रूने,सुखमा सँगै हाँस्ने प्यारी साथी तिमी
अँध्यारोमा नि उजिल्याउने घर शुभकामना जन्मदिनको।
एउटै रथका दुई पाङ्ग्रा हौं,डगमग् नगरी बाटो पहिल्याउन
मलाई तिम्रो,तिमीलाई मेरो भर शुभकामना जन्मदिनको।
हाँसो उठ्दा,अाँशु छुट्दा वा उकाली,अोरालीमा पवित्रदीप
सामिप्य रहिरहोस् हर प्रहर शुभकामना जन्मदिनकाे ।










