काठमाडौं । धनुषाका वरिष्ठ पत्रकार दिलीप घिमिरेको बुधबार बिहान ६३ वर्षको उमेरमा निधन भएको छ । घिमिरे विगत केही वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।
महोत्तरीको हतिसर्वामा २०१४ सालमा छविन्द्र घिमिरे तथा शोभादेवीका जेठो छोराको रुपमा जन्मिएका दिलीपले २०३२/३३ सालदेखि पत्रकारिता थालेका थिए । जनकपुरबाट प्रकाशित हुने ‘ज्योति’ साप्ताहिक र काठमाडौंबाट प्रकाशित हुने ‘मातृभूमि’ तथा ‘समीक्षा’ साप्ताहिकबाट स्थानीय संवाददाताका रूपमा पत्रकारिता सुरु गरेका पत्रकार घिमिरेले २०३८ सालबाट आफ्नै प्रकाशन र सम्पादनमा ‘हिमज्योति’ साप्ताहिक प्रकाशन सुरु गरेका थिए । ‘हिमज्योति’ साप्ताहिक निरन्तर प्रकाशित भइरहेको छ ।
वाम विचारबाट प्रभावित घिमिरे पत्रकारिताकै क्रममा पटक–पटक थुनामा परेका थिए । २०३५ सालमा पञ्च प्रशासनले पक्राउ गरेर राजकाज मुद्दा चलाएर उनलाई मार्नेसम्मको योजना बनाएको पत्रकार घिमिरेका भाइ अनिल घिमिरे बताउँछन् ।प्रजातन्त्रका लागि पत्रकार घिमिरेको योगदानको कदर गर्दै २०४७ सालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले समेत घिमिरेलाई सम्मानित गरेका थिए । ३० वर्षभन्दा बढी पत्रकारिता गरेका घिमिरेलाई नेपाल पत्रकार महासंघ, धनुषाले सम्मानित गरिसकेको छ ।











