नेपाली काङ्ग्रेसका नेता गजिन्द्र प्रकाश मल्लको निधनको सातौ दिनमा शोकसभा

प्रकाशित मिति:

जेठ ११, स्याङ्जा । स्याङ्जा जिल्लाका पुराना नेता एवम् सफल निर्माण व्यवासायीका रुपमा चिनिने गजिन्द्र प्रकाश मल्लको निधनको सातौ दिनमा स्वास्थ्य मापदण्डका साथ सीमित नेताहरुका बिचमा शोक सभा सम्पन्न गरिएको छ । मल्लको निवास पुतलीबजार ११ करेन्डाँडामा नेपाली काङ्ग्रेस र तरुण दलका नेताहरुको सहभागितामा भएको सो शोक सभामा नेपाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’, नेपाली काङ्ग्रेसका पूर्व सांसद शङकरप्रसाद पाण्डे, तरुण दलका उपाध्यक्ष रविन केसी, काङग्रेसका जिल्ला नेता पृथ्वी पोखरेल, नेबिसङ्घका अध्यक्ष अजित क्षेत्री, नेबिसंघ क्षेत्रीय सभापति विज्ञान भण्डारीलगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

सभामा बोल्दै कार्यवाहक सभापति रानाले गजिन्द्र प्रकाश मल्लले लोकतन्त्रका लागि पुर्‍याएको योगदानको चर्चा गरे । उनले मल्लको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुर्‍याएको धारणा राखे । त्यस्तै काङ्ग्रेसका पूर्व सांसद तथा महासमिति सदस्य शङ्करप्रसाद पाण्डेले मल्ल शालीन स्वभावको सरल र इमान्दार व्यक्तित्व भएको भन्दै लोकतान्त्रिक आन्दोलनमा मल्लले देखाएको बाटोलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेताहरुले मल्लको योगदानको चर्चा गरेका थिए ।नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष एवम् गण्डकी प्रदेश सभासद भागवत् प्रकाश मल्लका पिता समेत रहेका मल्ल २०१७ सालदेखि नै राजनीतिमा सहभागी हुनुभएको थियो । राजाको शासनका विरुद्धको आन्दोलनबाटै राजनीतिक चेतना बढाउँदै लगेका मल्लले पञ्चायत विरोधी आन्दोलनमा पनि सक्रियताका साथ भाग लिएका थिए । उनी लोकतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा पटक पटक जेल परेका थिए । उनले काङ्ग्रेस स्याङ्जाको कोषाध्यक्षको पनि जिम्मेवारी सम्हालेका थिए । उनी काङग्रेसको तर्फबाट क्षेत्र नं ३ को समानुपातिक उम्मेदवार भएका थिए भने काङग्रेसको महासमिति सदस्य पनि बनेका थिए । मल्ल स्याङ्जाका सफल निर्माण व्यवसायी मानिन्छन् । उनी निर्माण व्यवसायी सङ्घ स्याङ्जाको संस्थापक अध्यक्ष र केन्द्रीय सदस्यसमेत थिए ।

व्यवसायमा स्वच्छ छवि बनाएका मल्ल ७० वर्ष पुग्दा नपुग्दै क्यान्सरका बिरामी परेका थिए । उपचार र उच्च मनोबलका कारण क्यान्सर र प्रोस्टेटलाई पराजित गर्न सफल भए पनि केही साता अगाडिमात्र देखिएको कोभिड सङ्क्रमणलाई भने उनले जित्न सकेनन् । जेठ ४ मा ७४ वर्षको उमेरमा उनको निधन भयो ।मल्लको परिवार साविक सेखाम गाविससमेत समेटेर बनेको चापाकोट नगरपालिकाबाट २०४६ सालपछि पुतलीबजार नगरपालिका बसाइ आएको थियो । मल्लका श्रीमती, ३ छोरा, एक छोरी छन् ।मल्लको निधनप्रति काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ मल्लको निधनले आफूलाई मर्माहत बनाएको भन्दै दुःख व्यक्त गरेका छन् । देउबाले भनेका छन्– ‘मल्लले कांग्रेसको संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो ।’ देउवाले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको छ ।’