तिलोत्तमाको मणिग्राम चोकमा ट्राफिक लाइट जडान

प्रकाशित मिति:

बुुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएको छ । तिलोत्तमा नगरपालिकाले ६ लेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको हो ।  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकको मणिग्राम चोकमा ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगर प्रमुख वासुदेव घिमिरेले शुभारम्भ गरेका हुन् । सो अवसरमा बोल्दै घिमिरेले ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई ६ लेन सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले यो लुम्बिनी प्रदेशमै पहिलो पटक जडान गरिएको ट्राफिक लाइट भएको बताए । उनले लाइटको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने प्रवक्ता सुरेन्द्र श्रीले बताए।