साझेदारी सम्झौतापत्रमा हस्ताक्षर

प्रकाशित मिति:

काठमाण्डौ मंसिर १२ / मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी र नर्वेजियन रेडक्रसको साझेदारीको ३३ वर्ष पुरा भएको उपलक्ष्यमा केन्द्रीय कार्र्यालयमा मंगलबार एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सोहि अवसरमा दुई राष्ट्रिय सोसाइटी विच सम्पन्न हुने गतिविधिहरुको साझेदारी सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा र नर्वेजियन रेडक्रसका उपाध्यक्ष मोर्टेल स्टोल्डेल ले हस्ताक्षर गरे । सम्झौता चार विशेष क्षेत्रहरुमा केन्द्रीत रहेको छ । जसमा विपद् व्यवस्थापन र प्रतिकार्य, क्षमता विकास, स्रोत व्यवस्थापन र रेडक्रस युवा विनिमय कार्यक्रम रहेका छन् ।
सोहि अवसरमा उनलेले ३३ वर्षे सहकार्यका गतिविधिहरुलाई समेटेर तयार पारिएको “आवर जर्नी” पुस्तक पनि विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै नर्वेजियन रेडक्रसका उपाध्यक्ष मोर्टेल स्टोल्डेलेले दुई सोसाइटीको समन्वयमा सञ्चालित गतिविधिहरुबाट नेपालको विकासमा सहयोग पुगेको बताए। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेरेसो र नर्वेजियन रेडक्रस विचको सम्झौताले साझेदारीलाई निरन्तरता दिन र अझ मजबुत बनाउन सहयोग पुग्ने बताए ।सोही अवसरमा नेपालका लागि नर्वेजियन राजदुतावासका राजनितीक सल्लाहकार ट्रोन लबदलले दुई सोसाइटी विचको सफल समन्वय र बलियो प्रतिबद्धताले सम्झौता कार्यान्वयनमा थप मद्दत पुग्ने बताए ।


कार्यक्रममा महामन्त्री देवरत्न धाख्वाले नर्वेजियन रेडक्रस साझेदार मात्र नभई वास्तवमै उत्प्रेरणाको श्रोत हो भन्दै ठूला विपद्का समयमा आकस्मिक सेवाका साथै युवा रेडक्रस र संस्थागत विकासमा नर्वेजियन रेडक्रसले महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले दुई राष्ट्रिय सोसाइटी विच विगत ३३ वर्षे सहकार्यबाट प्राप्त उपलब्धीहरुका बारेमा प्रस्तु्तीकरण गरेका थिए । उहाँले १९९७ मा नर्वेजियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रसको सामुदायिक विकास कार्यक्रम शुरु भएको र २००६ देखि दुई सोसाइटीबीच रेडक्रस युवा विनमय कार्यक्रम शुरु भएको बताए । सोही अवसरमा रेडक्रस युवा प्रतिनिधि विनिमय कार्यक्रम अन्तर्गत हाल नेपालमा कार्यरत नर्वेजियन युवा प्रतिनिधि गुरिस्क र सभानहिल्ड र नेपाली युवा प्रतिनिधि प्रकृति विष्टले नेपाल र नर्वेमा रही काम गर्दाको अनुभवहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम र रेडक्रसको अन्तराष्ट्रिय समितिका नेपाल सहयोग प्रतिनिधि प्रमेश पौडेलले दुई सोसाइटी विचको साझेदारीमा सम्पन्न गतिविधिहरुको प्रशंसा गरे। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका विभागका निर्देशक, कार्यक्रम एवं प्रमुख कर्मचारीहरु, नेपालस्थित नर्वेजियन रेडक्रस लगायत अन्य साझेदार राष्ट्रिय सोसाइटीहरुका प्रतिनिधि, जिल्लाका लाभग्राहीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।