नतिजा हाम्रो पक्षमा नआए मलाई दोष लगाउनुस्, खेलाडीलाई होइन : प्रशिक्षक अलमुताइरी
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमले राम्रो नतिजा दिन नसके आफूले जिम्मा लिने बताएका छन्।सामाजिक सञ्जालमा बिहीबार उनले नेपाली फुटबल प्रशंसकहरुले उठाएको प्रश्नको जवाफ दिंदै टिमको नतिजाको जिम्मा आफूले लिने बताएका हुन्।
‘हामी नयाँ मानसिकता र प्रणाली प्रयोग गर्दैछौं। यसको असर सुरुमै देखिन कठिन हुन्छ। म हरेक टिप्पणी पढ्छु। त्यसैले अहिले उनीहरु ९खेलाडी०लाई धेरै दबाब नगर्नुस्। हामी यहाँ उज्ज्वल भविष्यका लागि छौं,’ उनले लेखेका छन्, ‘यदि नतिजा हाम्रो पक्षमा नआए मलाई दोष लगाउनुस्, खेलाडीलाई होइन।’कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटको बाँकी तीन खेल र इराकसँगको मैत्रीपूर्ण खेलको लागि मंगलबार राति नै नेपाल इराक प्रस्थान गरिसकेको छ। नेपालले जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ।नवनियुक्त प्रशिक्षण अलमुताइरीको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलो खेल खेल्दै छ। एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
विश्वकप छनोटका लागि भनेर एन्फाले कुवेती प्रो लाइसेन्सधारी अलमुताइरीलाई अनुबन्ध गरेको हो। उनी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन्।इराकविरुद्धको खेलपछि अर्थात भोलिपल्ट जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ। त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ।नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ।५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल साथ चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।









