जेठ २५ सम्म निषेधाज्ञा लम्ब्याउने स्याङ्जा जिल्ला विपद् व्यवस्थापन समितको निर्णय
जेठ १४, स्याङ्जा । देशैभर नै नयाँ प्रकृतिको कोभिड १९ को भेरियन्ट सङ्क्रमण बढेसँगै स्याङ्जामा पनि तीव्र गतिमा सङक्रमणदर बढिरहेको अवस्थामा स्याङ्जा जिल्लामा जारी निधेधाज्ञा जेठ २५ सम्म थपिएको छ । यसभन्दा अगाडि जारी निषेधाज्ञा भोलि रातिबाट सकिँदै छ ।जेठ १३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितको भर्चुअल मिटिङको सिफारिस तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको आज १४ गते बसेको निर्णयका आधारमा सङक्रामक रोग ऐन २०२० अनुसार उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित आदेश पत्रमा सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै २०७८ जेठ १५ राति १२ बजेदेखि २०७८ जेठ २५ राति १२ बजेसम्मका लागि स्याङ्जा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।उक्त बैठकले निषेधाज्ञा लागु गर्ने निर्णयसँगै निषेधाज्ञाको समयमा अत्यावश्यक सवारी तथा कामबाहेक भीडभाड हुने खालको सम्पूर्ण गतिविधि सञ्चालनमा निषेध गर्ने निर्णय गरेको छ । उक्त बैठकले विभिन्न कोभिड व्यवस्थापनका लागि अन्य निर्णयहरू पनि गरेको छ ।
निषेधाज्ञाको समयमा औषधी उपचार तथा अत्यावश्यक कामबाहेक भीडभाड हुने खालको सम्पूर्ण गतिविधि सञ्चालनमा निषेध तथा सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शव वाहन, अत्यावश्यक खाद्य सामग्री, तथा पशुपक्षीका दाना, दुध फलफुल, तरकारी, मासु, पानी ग्यास, पोट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधन, औद्योगिक कच्चा पदार्थ बोकेका साधन, चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी, औषधी बोकेका सवारी, अत्यावश्यक सरकारी कामकाजको लागि प्रयोग हुने सवारी, प्रेस पास र परिचय पत्र बाहक सञ्चारकर्मीहरू बाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ भने स्याङ्जा जिल्ला भएर अन्य जिल्लामा जाने सवारीहरुलाई यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न दिइने निर्णय भएको स्रोतले जनाएको छ ।
निर्णय अनुसार औषधी पसलहरू २४ सै घण्टा सञ्चालन गर्न दिइनेछ भने अत्यावश्यक दैनिक उपभोग्य खाद्यसामाग्रीहरू दूध, फलफुल, तरकारी, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीका पसलहरू दिनमा एक पटक मात्र बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ । सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, जिमखाना, शैलुन तथा ब्युटी पार्लर, सुनचाँदी पसल, टेलरिङ्ग, फुटपाथ, पसलहरू बन्द रहने छन् ।
होटेल तथा रेष्टुरेण्ट पनि बन्द रहने छन् । स्वास्थ्य सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, दमकल, बैंक तथा वित्तिय संस्थाहरूबाट प्रवाह हुने सेवाबाहेक अन्य सरकारी तथा गैर सरकारी कार्यालयबाट प्रदान गरिने सेवा बन्द हुने समेत जनाइएको छ । यो निर्णय अगाबै जिल्लाका गल्याङ, वालिङ र चापाकोट नगरपालिकामा निषेधाज्ञा जारी भइसकेको छ ।
बैङ्किङ संस्थाको हकमा भने राजस्व सङ्कलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक अन्य अवस्थामा बन्द रहने तर एटिएम भने खुला नै रहने जनाइएको छ । अत्यावश्यक काम परे सम्बन्धित पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतको लिखित वा मौखिक अनुरोधमा मात्र उक्त पालिकामा रहेको बैङ्कबाट सेवा लिन सकिने पनि उक्त सूचनामा जनाइएको छ ।









