काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले ब्यहोर्ने जनाएको छ । उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षामा भर्ना गरिएको छ । उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियानसमेत शुरुआत गरेको बताइएको छ ।
मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसेवी थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा जारी विज्ञप्तिमा स्वास्थ्योपचार रकमका अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत भई आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख छ ।









