बुटवल- सरकारले कोभिड १९को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधिभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट खरिद गरिने खाद्यान्नलगायत खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएको हो। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यी दुई संस्थाबाट खरिद गर्ने, चाम, पिठो,दाल, नुन ,चिनी लगायत खाद्यवस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने गरी आवश्यक बजेटको व्यवस्था गरिएको बताए।
त्यसैगरी, निषेधाज्ञा अवधिभर प्रति महिना २० युनिट मात्र बिजुली खपत गर्नेलाई महसुलमा छुट दिइएको छ। २० युनिट प्रतिमहिना खपत गर्नेलाई पुरै महसुल छुट दिने, १ सय युनिट सम्म प्रयोग गर्नेलाई ५०प्रतिशत र २ सय युनिट सम्मको लागि २५ प्रतिशत महसुल छुट दिईने भएको हो।








