
एनआरएनए अमेरीकाका नवनिर्वाचित अध्यक्ष बुद्दि सागर सुबेदी द्धारा धन्यवाद ज्ञापन
हार्दिक आभार तथा कृतज्ञता- सर्वप्रथम,अमेरिकाबासी सम्पूर्णमा मेमोरियल डे को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका निम्ति नेतृत्व गर्न योग्य ठानी आफ्नो अमुल्य मत प्रदान गरी मलाई अध्यक्ष पदमा विजयी बनाउनुहुने संघका सम्पूर्ण सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्दछु । विभिन्न पदमा विजयी साथीहरुलाई पनि कार्यसमितिमा स्वागत गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु । म सगैं अध्यक्ष पदमा प्रत्याशी बन्नुभएका डा.अर्जुन बञ्जाडे, कृष्ण लामिछाने र तिलक के.सी. प्रति सम्मान व्यक्त गर्न चाहन्छु । त्यसैगरी विभिन्न पदमा प्रत्याशी बनी मतपरिणामले पछि पर्नुभएका सबै उम्मेद्वारहरुमा पनि सादुभाव व्यक्त गर्दछु । सामाजिक सेवामुखी संस्थाको लागि निर्वाचन भनेको केवल संस्थालाई कार्यकारी भूमिका दिने कार्यसमितिको चयन गर्ने एउटा प्रजातान्त्रिक परिपाटी मात्र हो, म यसलाई एउटा स्वभाविक प्रक्रियाको रुपमा लिन्छु । मतदान प्रक्रियामार्फत लोकतान्त्रिक विधिवाट नेतृत्व चुन्ने र चुनिने प्रणालीमा जादा केही मतको अन्तरले फरक खालको जिम्मेवारी प्राप्त हुने मात्र हो म यसलाई त्यही रुपमा ग्रहण गर्न चाहन्छु ।
निर्वाचन अघि निश्चित रुपमा हामी उम्मेद्वारहरु एक आपसमा अलग जस्ता थियौं तर त्यो भनेको केवल मतगणना हुनु अघि सम्म मात्र हो । अव हामी सबै एक ठाउमा उभिएर संघको हितका निम्ति आ आफ्नो क्षेत्रवाट पहलकदमी गर्ने र एक आपसमा सहकार्य बढाउनु आवश्यक छ । एनआरएनए अभियानमा हामी सबै समाहित भई संघलाई बलियो बनाउनका लागि हातेमालो गर्न जरुरी छ । नेतृत्वमा आइरहदा सबैलाई समेटेर एनआरएनए अमेरिकालाई अगाडि बढाउन म बाट हर प्रयास रहनेछ भन्ने तर्फ विश्वस्त पार्न चाहन्छु । सबैलाई एनआरएनए अमेरिकाको छाता भित्र गोलबन्द भई अमेरिकाबासी आम गैर आवासीय नेपालीको निम्ति बढी भन्दा बढी संघमार्फत योगदान गर्नका लागि म सबैमा अपिल गर्दछु ।एनआरएनए अभियानमा अगाडि बढिरहेका हामी सबैका लागि एनआरएनए अमेरिकाको ढोका सदैव खुल्ला रहेको हुन्छ । अभियानमा कसैले हार्ने वा जित्ने भन्ने हुदैंन ।संघको यस निर्वाचनमा अध्यक्ष पदमा प्रत्याशी बन्नुभएकाहरुको भावनालाई समेट्ने तर्फ पनि मेरो भूमिका रहनेछ । सबैको साझा पहल, योगदान र सहकार्यको जगमा आम गैर आवासीय नेपाली संघ, अमेरिकालाई एउटा बलियो एनसिसी बनाउनका निम्ति म दृढतापूर्वक लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्दछु । अध्यक्ष पदको प्रत्याशीको रुपमा अमेरिकाको विभिन्न राज्य तथा शहरमा बस्नुहुने तपाई मतदाता एवं समस्त गैर आवासीय नेपालीहरुसग अन्तरक्रियाका लागि आउदा तपाईहरुले व्यक्त गर्नुभएका सुझावलाई पनि मैले शिरोधार्य गरेको छु । तपाईहरुसगै रहेर मैले संघलाई नेतृत्व दिने पनि प्रतिवद्धता व्यक्त गर्दछु । म अध्यक्ष पदको लागि उठ्दा के हुन्छ भन्ने प्रारम्भिक छलफलको समयदेखि लिएर मतदानको दिन अनि मतपरिणाम आउदासम्मको अवधिमा मलाई साथ,सहयोग, समर्थन र हौसला प्रदान गर्नुहुने सबै सम्मानित व्यक्तित्वहरुमा आभार प्रकट गर्दछु । मेरो नेतृत्वको यात्रामा तपाईहरुले जसरी आधार निर्माण गरिदिनुभयो त्यसको स्मरण गर्दै आगामी दिनमा पनि संघको नेतृत्वमार्फत सामाजिक सेवाको क्षेत्रमा लाग्नका लागि यसैगरी सबैवाट साथ, सहयोग, समर्थन र सहकार्य हुनेछ भन्ने विश्वास मैले लिएको छु । निवार्चनमा जादा मतको हिसाबले आफूले चाहेको पदीय भूमिका प्राप्त हुन नसक्नुभएका मेरा अभियन्ता साथीहरुलाई पनि एनआरएनए अभियानमा जोड्दैं उहाहरुको चाहना बमोजिमको भूमिका उहाहरुलाई दिने वातावरण निर्माणका लागि मेरो सत्प्रयास रहनेछ ।
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्सगको आवश्यक समन्वयमा अमेरिकाका रहेका अन्य सामाजिक संघ संस्थाहरुलाई समेत समेटेर एनआरएनए अमेरिकालाई एउटा उचाईमा पुऱ्याउन मैले आफ्नो तर्फवाट योगदान गर्ने समेत प्रतिवद्धता व्यक्त गर्दछु । अन्य विषयहरु आगामी दिनमा पनि राख्दै जानेछु । मेरो नेतृत्वको कार्यकालमा गरिने कार्यक्रमलाई तपाईहरुसगैं रहेर आगामी दिनमा सार्वजनिक गरी अघि बढ्नेनै छु । र अन्त्यमा, निर्वाचन सम्पन्न गर्न अहोरात्र खट्नुहुने निर्वाचन आयोगका प्रमुख आयुक्त एवं आयुक्तहरु, मेम्वरसिप ड्राइभ देखि मेम्बरसिप भेरिफिकेशन सम्मको अवधिमा दिन रात नभनी लाग्नुहुने अभियन्ताहरु, संघका अग्रजहरु, विभिन्न संघ संस्थामा नेतृत्व वर्ग, संचारकर्मी मित्रहरु, एनआरएनए अमेरिकाको वर्तमान कमिटी परिवार, अग्रज ज्यूहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद । जय एनआरएनए अमेरिका ।
तपाईकै,
बुद्दि सागर सुबेदी
नव निर्वाचित अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका ( वर्ष २०२१ देखि २०२३ कार्यकाल)