एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसीले यस सिजन टोलीले च्याम्पियन्स लिगलाई प्राथमिकतामा राखेको बताएका थिए । बुधबार समूहको पाँचौ खेलमा पीएसभीविरुद्ध उत्रँदा उनले आफ्नो भनाइलाई पुष्टि पनि गरे । उनको जादुमयी प्रदर्शनमा बार्सिलोना अवे मैदानमा २-१ ले विजयी रहयो ।बार्सिलोनाले यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । बुधबारको जितसँगै टोली शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्ने भएको छ । गोलरहित रहेको पहिलो हाफमा दुवै टोलीले गोलको मौका सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेनन् । बार्सिलोनाको डिफेन्सले कमजोर प्रदर्शन गरेपनि मेसीको प्रदर्शनले टोलीलाई जितसम्म पुर्यायो ।
मेसीले खेलको ६१ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । उनले ओस्मान डेम्बेलेको पासलाई पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरको बीचबाट गोल गर्दै उत्कृष्ट गोल गरे । ७० औं मिनेटमा जेरार्ड पिकेलेअग्रता दोब्बर पारे । उनले मेसीको चलाखीपूर्ण फ्रिकिकलाई पोस्टको दिशा दिंदै जिततर्फ अग्रसर गराएका थिए । ८२ औं मिनेटमा पीएसभीका कप्तान लुक डे जोङले एक गोल फर्काए । तर पीएसभीले थप गोल गर्न नसक्दा बार्सिलोना विजयी रहयो ।समूह चरणको एक खेल बाँकी छँदा बार्सिलोनाले दोस्रो स्थानको स्पर्ससँग ६ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाको ५ खेलमा १३ अंक छ भने टोटेनहम र इन्टर मिलानको समान ७-७ अंक छ । १ अंक बोकेर पुछारमा रहेको पीएसभी प्रतियोगिताबाट बाहिरिसकेको छ ।