याे हाे एसिया प्यासिफिक समिट विवादित बन्नुकाे मूल कारण

प्रकाशित मिति:

काठमाडौं , १४ मंसिर – एसिया प्यासिफिक समिट काठमाण्डुमा शुक्रबारबाट सुरु हुँदैछ । सोमबारसम्म चल्ने सो समिटमा सहभागी हुन आज पनि विभिन्न देशका विशिष्ट पाहुनाहरू आउँदैछन् ।

उक्त समिटमा सहभागी हुन शुक्रबार न्युजिल्यान्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति तथा पालाओ आइल्यान्डका राष्ट्र प्रमुख आउँदै छन् ।

यसैगरी आजै पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पनि नेपाल आउँदै छन् ।

यसअघि म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार नै काठमाण्डु आइसकेका छन् । उनीहरूलाई होटल सोल्टीमा राखिएको छ ।

उनीहरू सबैलाई सोल्टीमै राखेर शुक्रबार साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज दिँदै छन् । आउने–जाने समयको बचत गर्न ओली बिहीबारदेखि नै सोल्टीमा बसेका छन् ।

विदेशी पाहुनाको सुरक्षाका लागि उपत्यकामा करिब ३५ सय सुरक्षाकर्मी खटिएका छन् । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दैछ ।

सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुने सरकारले जनाएको छ ।

उक्त कार्यक्रममा १८ देखि २० करोड खर्च हुने अनुमान आयोजकले गरेको छ । त्यसमा सरकारका तर्फबाट करिब ५५ लाख खर्च हुने बताइएको छ ।

एसिया प्यासिफिक समिटको आयोजक ‘युनिभर्सल पिस फेडेरेसन’ क्रिस्चियन धर्मप्रचारक संस्था हो । जुन संस्था सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए ।

त्यही वर्ष नै यो संस्था नेपाल आइपुगेको हो । यो संस्था नेपालमा सुरेशराज आचार्यको अध्यक्षतामा स्थापना गरिएको थियो ।

अहिले यस संस्थाका अध्यक्ष पूर्वपरिवार दलका नेता एकनाथ ढकाल छन् । धर्मप्रचारक संस्थाले उक्त कार्यक्रम आयोजना गरेको भन्दै सरकारकै चर्को आलोचना हुँदै आएको छ ।