यूएनडीपीद्वारा लुम्विनी प्रदेश सरकारलाई ६५ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर प्रदान ।
बुटवल : संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले लुम्बिनी प्रदेश सरकारलाई ६५ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
युएनडिपी नेपालका लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्वास्थ्य तथा जनसंख्यामन्त्री भोज प्रसाद श्रेष्ठलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो । अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मन्त्री श्रेष्ठले आवश्यक्ता र मागका आधारमा प्रदेशका बिभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईने बताउनु भयो । उहाँले भन्नुभयो ‘अक्सिजन कन्सन्ट्रेटरले ग्रामिण भेगका नागरिकलाई थप फाईदा पुग्नेछ ।’ मन्त्री श्रेष्ठले कोभिड १९ को माहामारीमा नागरिकको जीवन रक्षाका लागि अति आवश्यक सामाग्री प्रदान गरेको भन्दै सहयोगी संस्था युएनडिपीलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा कोभिडबाट नागरिकलाई सुरक्षित बनाउन प्रदेश सरकारले राम्रो काम गरिरहेको भन्दै युएनडिपीका प्रदेश प्रमुख अर्यालले नागरिकको जीवन रक्षाका लागि युएनडिपीले सहकार्य गरेको बताउनु भयो । ६० अक्सिजन कन्सन्ट्रेटर मध्ये ३० वटा ५ लिटर प्रति मिनेट अक्सिजन चढ्ने र ३० वटा १० लिटर प्रति मिनेट अक्सिजन चढ्ने रहेको अर्यालले बताउनु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डाक्टर बिकास देवकोटा, स्वास्थ्य अधिकृत डाक्टर पुष्पा पौडेल,डब्लु एच ओका हरि भुषाल, युएनडिपीका कार्यक्रम एसोसियट शिला शर्मा लगायतको उपस्थिती रहेको थियो ।










