मेलम्चीमा बगेका तीन वटा शव सिन्धुलीमा फेला परे;चिनियाँ नागरिकको शव, अर्को शव भारतीयको हुन सक्ने

प्रकाशित मिति:

सिन्धुलीमा फेला परेका तीन वटा शवमध्ये एक जनाको पहिचान खुलेको छ।बुधबार सुनकोशी गाउँपालिका.७ कालढुङ्ग्रेस्थित नदी किनारमा फेला परेका तीन शवमध्ये एक चिनियाँ नागरिकको भएको खुलेको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले चीनको सिचुवान प्रान्तका अन्दाजी ४०-४५ वर्षका यु-तेइझुको शव फेला परेको जानकारी दिए। उनी मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए।आज आयोजनाबाट एक जना चिनियाँ नागरिक र दोभाषे आएर शव पहिचान गर्नुभएको थियो। उहाँहरूले शव बुझेर लग्नुभयो,डिएसपी लामाले भने।

हेलम्बु गाउँपालिका.१ अम्बाथानस्थित मेलम्ची आयोजनाको क्याम्पबाट आठ जना कामदार बेपत्ता भएका थिए। त्यसमध्ये एक जनाको पहिचान भएको डिएसपी लामाले जानकारी दिए।सिन्धुलीको सुनकोशी वडा नम्बर ५ मुलकोटमा फेला परेको शव पनि आयोजनाकै कर्मचारीको हुन सक्ने आशंका गरिएको छ। आयोजनाका डिभिजन इन्जिनियर राजेन्द्र पन्तले भेटिएको अर्को शव भारतीय नागरिक कमल लोचन महतोको भएको बताए।आयोजनाले जिल्ला प्रहरी कार्यालयलाई पत्र समेत पठाएको छ। यसको अन्तिम पुष्टि भने भइसकेको छैन।आयोजनाले ती व्यक्ति भारतीय नागरिक हुन् भनेर पत्र पठाएको त छ। तर भोलि उहाँका आफन्तहरू आउँदै हुनुहुन्छ। त्यसपछिमात्रै एकिन गर्न सक्छौं, डिएसपी लामाले भने। उनको शव अहिले सिन्धुली जिल्ला अस्पतालमा राखिएको छ।

सिन्धुलीमै फेला परेको अन्दाजी ५०-५५ वर्षीया महिलाको शव भने पहिचान हुन सकेको छैन।महिलाको शव फिक्कल गाउँपालिका खाङसाङमा फेला परेको थियो। शव धेरै सडिसकेको अवस्थामा फेला परेको हो। पहिचान पनि नखुलेको हुँदा व्यवस्थापन गर्न पालिकालाई नै जिम्मा दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची बाढी आएको थियो। उक्त बाढीमा परी मेलम्चीमा कार्यरत ३ चिनियाँ, ३ भारतीय र दुई नेपाली नागरिक बेपत्ता भएका छन्। उनीहरूमध्ये अरूको खोजी अझै जारी छ।सिन्धुली प्रहरीले सुनकोशी नदीमा उनीहरू फेला पर्न सक्ने भन्दै प्रहरी परिचालन गरेको छ।