काठमाडौं- ‘तल्लो जात’ भनेर कोठा भाडामा नदिएको आरोप लागेका घरभेटीविरुद्ध पत्रकार रुपा सुनारले जाहेरी दिएकी छिन्।काठमाडौं महानगरपालिका ११ बबरमहलका ५८ वर्षीया सरस्वती प्रधानविरुद्ध उनले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन्।घरभेटी प्रधानले आफूलाई सानो जातको भन्दै डेरा नदिएको पीडित सुनारको गुनासो छ। उनका अनुसार घरभेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन्।
दलित समुदायको भन्ने थाहा पाएपछि भने कोठा भाडामा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन्। जातीय विभेदको मुद्धा भएपनि प्रहरीले सजिलै जाहेरी लिन नमानेको सुनारले गुनासो गरिन्।‘हामी १२ बजे प्रहरीकहाँ पुग्यौं। जाहेरीको ढाँचामा आवश्यक कागजातसहित गएका हौं। तर, प्रहरीले जाहेरी लिनै मानेनन्,’ उनी भन्छिन्, ‘म एउटा पत्रकार हुँदाहुँदै त प्रहरीले उजुरी लिँदैन भने आममानिसले कसरी न्यायको अपेक्षा गर्ने? दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझमात्रै प्रहरीले जाहेरी लिएको उनले जानकारी दिइन्। ‘१२ बजेदेखिको निरन्तर दवावले ४ स् ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ। साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। लडाइँ अझै बाँकी छ,’ सुनारले सामाजिक सञ्जालमा लेखेकी छिन्।
मंगलबार कोठा खोज्न घरभेटी प्रधान कहाँ पुगेकी सुनारलाई कोठामा बस्ने पक्कापक्की भएपछि जातमा पुगेर अड्किएको थियो।जातकै कारण सुनारलाई कोठा दिन नसक्ने टेलिफोनमा घरभेटीले बताएकी थिइन्। घटनापछि आफूमाथि विभेद भएकोबारे पत्रकार सुनारले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।











