सिनेमा हल नखुलेपछि ‘एक’ डिजिटल प्लेटफार्मबाट रिलिज हुने

प्रकाशित मिति:

काठमाडौं-कोरोना महामारीका कारण रिलिज स्थगन भएको फिल्म ‘एक’ अब डिजिटल प्लेटफार्मबाट रिलिज हुने भएको छ।सिनेमा हल खुल्ने छाँटकाँट नदेखिएपछि निर्माण पक्ष फिल्म प्रदर्शनका लागि डिजिटल प्लेटफार्मकै विकल्पमा पुगेको हो।

‘फिल्म तयार भएको करिब डेढ वर्ष भइसक्यो तर तत्कालै महामारी नियन्त्रण हुने र हल सामान्य अवस्थामा फर्कने सम्भावना देखिएन, त्यसैले डिजिटल प्लेटफार्ममै रिलिज गर्ने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्देशक मनोज पण्डितले भने, ‘नेपालमा कोही पनि फिल्ममेकरले नयाँ फिल्म डिजिटलमा रिलिज गर्ने हिम्मत नगरेका बेला हामीले गरेका हौं। हेरौं, परिणाम के हुन्छ!!पण्डितका अनुसार नेपालमा उपलब्ध सबै डिजिटल प्लेटफार्मबाट यही भदौमा फिल्म रिलिज गर्ने तयारी भइरहेको छ। तर, ठ्याक्कै मिति भने केही दिनपछि सार्वजनिक गर्ने उनले बताए।राजनीतिक कथामा आधारित यो फिल्मको कथा देशलाई एउटा संकटबाट जोगाउन भएको मिसनमा केन्द्रित रहेको बताइएको छ।

फिल्ममा प्रमोद अग्रहरि, विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद खड्कालगायत कलाकार प्रमुख भुमिकामा छन्। यो फिल्मका निर्देशक पण्डितले यसअघि ‘दासढुंगा’, ‘बधशाला’, ‘खाग’ लगायत फिल्म निर्देशन गरेका छन्।