तनहुँ । पछिल्लो समय फस्टाएको डिजिटल मिडियाबाट संप्रेषित कतिपय सामग्रीका कारण आमनागरिकमा परेको भ्रमप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।मिडिया एक्सन नेपालले आइतबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सरोकारवालाले डिजिटल मिडियाबाट संप्रषित सामग्रीले भ्रम छरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।‘भ्रामक सूचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता’ विषयक प्रदेश स्तरीय अन्तरक्रियामा गण्डकी प्रदेशका शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता कुमार खड्काले कुनै पनि मिडियाबाट प्रसारित सूचना एवम् समाचार सत्य तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए ।
‘मिडिया स्वतन्त्र र स्वयत्त हुनु पर्छ । र, सही सूचना संप्रेषण गर्नेमा पनि मिडिया एवम् सञ्चारकर्मी जिम्मेवार हुन आवश्यक छ’, मिडियालाई राज्यले नियन्त्रण गर्न नहुने तर्क गर्दै उनले भने, ‘हामी विज्ञहरुसँगको छलफलपछि मिडियामैत्री नीति बनाउँछौं, कतिपय नीति परिमार्जन पनि गर्दैछौं ।’सञ्चार क्षेत्रले स्वानियम एवम् आचार संहिता पालन गर्नुपर्ने तर्क गर्दै उनले त्यसलाई नियमन गर्न प्रेस काउन्सिलले जिम्मेवार भूमिका निर्बाह गर्नुपर्ने बताए । सञ्चारकर्मीलाई स्रोतसाधन सम्पन्न बनाउँन र क्षमता अभीवृद्धिका लागि प्रदेश सरकारले अधिकतम् सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री खड्काले सञ्चार क्षेत्रमा कार्यपालिकाको हस्तक्षेप हुन नहुनेमा जोड दिए ।कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले सही सूचनाका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख चुनौती भएको बताइन् । ‘सामाजिक सञ्जाल र दर्ता नभएका न्यूज पोर्टलले भ्रमपूर्ण सूचना दिइरहेका छन्’ भण्डारीले भनिन्, ‘यसलाई नियमन गर्नु नै अहिलेको मुख्य चुनौती हो ।’
त्यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले पनि प्रविधिको विकाससँगै दुरुपयोगको बढेकोमा चिन्ता व्यक्त गरे । ‘प्रविधिको विकास हुनु र डिजिटल मिडियामा सर्वसाधारणको पहुँच हुनु सकारात्मक पक्ष हो, तर यसबाट हुने भ्रामक सूचनाले समाजलाई नकारात्मक दिशातिर धकेलेको छ । यसप्रति गम्भीर हुन जरुरी छ ।’ उनले समाचार प्रकाशन एवम् प्रसारणप्रति सञ्चारकर्मी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले भ्रामक सूचना रोकथामतर्फ नियामक निकायको ध्यान नगएकोप्रति आपत्ति जनाइन् । ‘केही सञ्चार माध्यमले आफ्नो फाइदाका लागि पनि गलत सूचना प्रबाह गरेको पाइएको छ’ उनले भनिन्, ‘भ्यूज बढाउनका लागि भ्रामक सूचना संप्रेषण गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।’आयोजक संस्था मिडिया एक्सन नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिताजन्य विषयवस्तुलाई नियमन गर्न बनेका संघसंस्थाले पत्रकारिताको मात्रै चिन्ता गरे पत्रकारिता व्यवसायिक बन्ने बताए । प्रेस काउन्सिल जस्ता संस्थाको कार्यसम्पादनमा स्पष्टता नभएका कारण पनि भ्रामक सूचना संप्रेषण न्यूनीकरण हुन नसकेको तर्क गरे । पछिल्लो समय बढ्दो भर्चुअल कार्यक्रममा सूचना लिने र दिने दुवै चनाखो हुनुपर्ने उनको मत छ ।
मिडिया एक्सनले स्थापनाकालदेखि नै विभिन्न संघसंस्थासँग मिलेर मिडियाको स्वतन्त्रता, विकास र मिडियालाई जिम्मेवार बनाउने काम गर्दै आएको पन्थले बताए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मिडिया एक्सन नेपालकी सचिव आरती शिल्पकारले गलत सूचनाबाट सुरक्षित राख्न र पत्रकारले उत्पादन गरेका सामग्रीलाई विश्वसनीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, प्रेससम्वद्ध संघसंस्थाका अध्यक्षलगायत ४० भन्दा बढी क्रियाशील पत्रकारहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण संस्थाकी गण्डकी प्रदेश संयोजक सुनिता आचार्यले गरेकी थिइन् । मिडिया एक्सन नेपालले ७ वटै प्रदेशमा मिडियाका विभिन्न सवालमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।











