रोटरीको लगानीमा आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

प्रकाशित मिति:

बुटवल, १५ असार । रोटरी क्लव अफ बुटवलको लगानीमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ । रोटरीले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ५५ लाख रुपियाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । कोभिड १९ को महामारीले केही समय पहिले रुपन्देही लगायत देशभर अक्सिजन अभाव भएको थियो ।

कोभिडको तेस्रो भरियन्ट आउने हल्ला चलिरहेको र यसले सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लवका अध्यक्ष सुनिल श्रेष्ठले बताए । अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९ का बिरामीका लागि प्रयोग गर्दै आएको रुपन्देहीमा आम्दामा स्थापना भएको प्लान्टले आगामी दिन अक्सिजन आपूर्तिका लागि सहज हुने उनले बताए ।रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौं, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौँ,’ श्रेष्ठले भने ।

अस्पतालमा निर्माण गरिएकोे प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । प्लान्टको उदघाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री लिला गिरीले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताए । अक्सिजन प्लान्ट स्थापनाले अव अस्पतालमा अहिलेको जस्तो महामारीको समयमा समेत अक्सिजन अभावलाई पुर्ती गर्न सकिने भन्दै उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे ।रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्षल एवं रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले रोटरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएकोमा धन्यवाद दिंदै यसको संरक्षणका साथै दीगो रुपमा सञ्चालनका लागि अस्पताल लागि पर्ने बताए ।कार्यक्रममा क्लवका एजी राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनाका प्राविधिक पक्ष र यसको योजना निर्माणदेखि स्थापनासम्मका कठिनाइहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा क्लव मेन्टर कृष्णप्रसाद अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कमल थापा, क्लवका सचिव रोम शर्मा लगायतले आ आफ्नो धारणा राखेका थिए ।
शंकरनगर वनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना

यस्तै   तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित वनवाटिकामा यस क्षेत्रको लागि नयाँ ई—लर्निङ एण्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लव अफ बुटवलले तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा निर्माण गरेको थिएटरको नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गरेका छन् ।विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटरले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण् थप बढाउने भएको छ । करिव १६ फूटको लम्बाई र झण्डै ९ फूट चौडाइको स्क्रिनिङ रहेको प्रोजेक्टमा ठूला ठूला सेमिनार, गोष्ठी, तालिमहरु सञ्चालन गर्न, विभिन्न खेलकूद प्रतियोगिताहरु अवलोकन गर्न र समग्र पृथ्वीको बारेमा समेत प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न उपयोगी हुने छ । क्लवले यो प्रविधि चाइनाबाट भित्र्याएको हो । यसबाट डिजिटल सिकाइका नयाँ प्लार्टफर्मको विकास समेत भएको क्लवका पुवक्लवका अध्यक्ष सुनिल श्रेष्ठले करिव ४५ लाखको लागतमा यो प्रोजेक्ट स्थापना भएको बताए । आफ्नो कार्यकालमा चारवटा महत्वपूर्ण प्रोजेक्ट अगाडि सारेकोमा लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिंग सेन्टर र ब्लड कलेक्शन मोवाइल भ्यान छिटै नै सञ्चालनमा आउने पनि उनले बताए ।

थिएटरको उदघाटन गर्दै नगरप्रमुख घिमिरेले यसले युवा पुस्तामा नयाँ प्रविधिको समेत विकासमा सघाउ पुर्याउने भन्दै यसको सञ्चालनको लागि आगामी दिनमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए । क्लवका एजी राजेन्द्र लम्सालले यसको स्थापनाले वनवाटिका प्रविधिमैत्री केन्द्र बनेको पनि उनले बताए ।क्लवका पुर्व अध्यक्ष एवं वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले ई—लर्निङ एण्ड साइन्स थिएटरको स्थापनाले प्रतिकूल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउन सघाउ पुर्याउने बताए ।
कार्यक्रममा क्लवका एजी खिमानन्द भुसाल, शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष अध्यक्ष बेलप्रसाद शर्मा, क्लवका सचिव रोम शर्मा, कोषाध्यक्ष खेमनारायण पराजुलीलगायतले ई—लर्निङ एण्ड साइन्स थिएटरको बारेमा आ आफ्नो धारणा राखेका थिए ।
ग्लोबल ग्रान्ट अन्तर्गत रोटरीका दुइवटा प्रोजेक्ट सम्पन्न, दुईवटा प्रक्रियामा

यस्तैरोटरी क्लव अफ बुटवलले वर्ष २०२०–२१ मा ग्लोबल ग्रान्ट अन्तर्गत दुईवटा परियोजना शुभारम्भ गरेको छ । परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले ग्लोबल ग्रान्ट अन्तर्गत सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट स्थापना र शंकरनगर वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर सञ्चालनमा आएको बताए ।उनले ब्लड कलेक्शन मोवाइल भ्यान एक डेढ महिनाभित्रै सञ्चालनमा आउने र लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग सेन्टर स्थापनाको प्रक्रिया अघि बढेकाले निकट भविष्यमै यो परियोजना पनि सञ्चालनमा आउने बताए । उनले सञ्चालनमा आएका दुईवटा परियोजनामा रोटरीले एक करोड भन्दा बढी लगानी गरेको र मावाइल कलेक्शन भ्यानका लागि ६० लाख लगानी रहेको बताए ।कार्यक्रमको उदघाटन भर्चुअल रुपमा रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२०–२१ का डिष्टिक गभर्नर राजीव पोखरेलले गरेका थिए

त्यस अवसरमा बोल्दै उनले रोटरी क्लव अफ बुटवल रिजन फाइभमै पहिलो नम्बरमा आउन सफल भएको भन्दै यो वर्ष पनि क्लवले महत्वपूर्ण सफलता हासिल गरेको बताए । उनले ग्लोबल ग्रान्ट अन्तर्गत दुर्इैवटा महत्वपूर्ण परिजोजना सम्पन्न गरेकोमा क्लवलाई धन्यवाद दिंदै यसले सफलताको उचाई अरु बढाएको बताए ।कार्यक्रममा क्लवका वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजू, क्लवका पुर्व अध्यक्ष एवं क्लव मेन्टर कृष्णप्रसाद अर्याल, एजी खिमानन्द भुसाल र राजेन्द्र लम्साल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, क्लवका पुर्व अध्यक्ष नारायण प्रसाद पन्थ, सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा रोटरी क्लव अफ बुटवलले पत्रकार महासंघ रुपन्देहीलाई स्वास्थ्य सामग्री अन्तर्गत मास्क र सेनिटाइजर प्रदान गरेको थियो ।