बुटवल १९, असार । सञ्चारिका समुह रुपन्देहीको आयोजना र बुटवल उप–महानगरपालिका वडा नं. ४ को सहयोगमा आयोजित तेस्रो चरणको कोरोना प्रभाव र अपनाउनु पर्ने सावधानी विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहभागिहरुले कोरानाबाट बाँच्न आफै सचेत र सजग बन्नुको बिकल्प नरहेको बताएका थिए । आफ्नो दैनिक रहनसहनमा उच्च सतर्कताका साथ सकारात्मक परिवर्तन गरेमा कोरोना जस्ता संक्रामक रोगबाट बच्न सकिने उनिहरुको भनाइ थियो् । सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरु गौतमको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा टोल विकास समितिका अगुवाहरु, स्वास्थ्य स्वंमसेवीकाहरु, अभिभावक तथा महिला पत्रकारहरुको सभागिता रहेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोनाबाट बच्न सबैभन्दा पहिले आफु नै सचेत बन्नु पर्ने र परिवार, टोल हुदै समाजलाई नै सचेत गराएमा मात्रै कोरोनालई जित्न सकिने बताएका थिए । आत्तिएर होइन धैर्यताका साथ उच्च मनोवल बनाएर स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएमा यस्ता रोगलाई जित्न सकिने समेत उनिहरुको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टंकप्रसाद पराजुलीले कोरोनासँग डराउने होइन तर उच्च सावधानी अपनाउनु पर्ने बताउनु भयो । सतर्कता र स्वास्थ्य मापदण्डको पालना गर्नु बाहेक अरुकुनै बिकल्प नरहेको टिप्पणी गर्दै अध्यक्ष पराजुलीले सामाजिक दुरी, समय समयमा साबुन पानीले हात धुने र मास्क प्रयोग नै यो रोगबाट बच्ने प्रमुख उपाय भएकाले आफु र आफ्ना घर परिवारलाई सुरक्षित राख्न सबैको भूमीका अपरिहार्य रहने बताउनु भएको थियो । कोरोना कहरका कारण राज्यले धेरै क्षेती वेहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले थोरै मात्रामा भएपनि असावधानी अपनाएमा यो रोगले छोप्न सक्ने हुनाले सबै जनाले सजगता ,सतर्कता र सावधानी अपनाएमा यो रोगबाट बच्न सकिने समेत उहाको भनाइ थियो । नेपाल मेडिकल एशोसियशन लुम्बिनीका महासचिव, बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेलले कार्यक्रमको सहजिकरण गर्दै तेस्रो चरणको कोरोना भारत लगाएतका देशहरुमा प्रवेश गरिसकेको भन्ने विश्व स्वास्थ्य संगठनको भनाई रहेको बताउदै यसबाट बालवालिकाहरु बढी प्रभावित हुनसक्ने अनुमान गरेकाले यसबाट आफु र आफ्ना बालबालिकाहरुलाई सुरक्षित राख्ने उपाएहरुका बारेमा जानकारी गराउनु भयो ।
सबै नारिकहरुलाई खोपको पहुँच पुग्नु पर्ने, वालबालिकाहरुलाई घरबाहिर जानबाट रोक्नु पर्ने तथा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन सकेमा यो रोगबाट बच्न सकिने बताउदै डा. पोखरेलले आहार बिहारमा सजगता र रहनसहनमा सतर्कता अपनाउनु नै कोरोना जस्ता संक्रामक रोगहरुबाट बच्ने मुख्य उपाय भएको बताउनु भयो । कार्यक्रममा स्वास्थ्य स्वयंसेवीका गिता पन्थ, भुवनेश्वरी टोल विकास संस्थाका रविन्द्र नाथ पंगेनी, लक्ष्मीनगर टोल विकास समितिका एकता दवाडी, आर्दशनगर प्रगति टोलका राधा पन्त , सञ्चारिका समुहका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिना ढकाल, पत्रकारहरु शारदा शाही, पुजा पन्थी, कल्पना डुम्रे लगाएतले बोल्दै कोरोनालाई जित्नका लागि उच्च मनोवलका साथ सुरक्षात्मक उपाय अपनाउनु पर्नेमा जोड दिएका थिए ।












