वेबसाइट असुरक्षित भए अब गुगल क्रोमले नै दिनेछ सूचना

प्रकाशित मिति:

काठमाडौं । गुगलले हाल क्रोमका लागि नयाँ फिचरमा काम गरिरहेको छ, जसले प्रयोगकर्तालाई स्वचालित रूपमा असुरक्षित वेबसाइटबाट टाढा रहन निर्देशन दिनेछ । क्रोमले एचटीटीपीएस (https) को सट्टा एचटीटीपी (https) प्रयोग गर्ने वेबसाइटबारे सूचना दिने गरी नयाँ फिचर ल्याउन लागेको हो ।

सन् २०१८ देखि नै गुगलले एचटीटीपीएसको प्रयोगलाई जोड दिएको थियो । सो बेलादेखि नै यसले एचटीटीपी प्रयोग गर्ने साइटहरूलाई असुरक्षित साइटको रुपमा सूचित गरेको थियो । यद्यपि गत वर्ष क्रोम ८६ सार्वजनिक गरेसँगै प्रयोगकर्तालाई एचटीटीपीएस साइटमा भएका असुरक्षित फारममा आफ्नो संवेदनशील सूचनाहरू जस्तै बैकिंङ विवरणहरू नराख्न चेतावनी दिएको थियो ।यस्ता समस्यालाई सम्बोधन गर्न गुगलले क्रोमको आउँदो भर्जनमा ‘एचटीटीपीएस – ओन्ली मोड’  (HTTPS-Only Mode)  राख्ने भएको छ ।

के हो एचटीटीपीएस – ओन्ली मोड ?
एचटीटीपीएस – ओन्ली मोडले प्रयोगकर्तालाई कुनै पनि असुरक्षित वेबसाइट भिजिट गर्नबाट रोक्छ । क्रोममा यो फिचर उपलब्ध भएपछि क्रोमको सेटिङमा ‘अलवेज युज सेक्योर कनेक्सन’  (Always use secure connections)  भन्ने एउटा टोगल अथवा अप्सन थपिनेछ ।

यसलाई क्रोमको सेटिङमा गएर इनेबल गर्न सकिने छ । यसका लागि क्रोमको सेटिङमा गएर त्यहाँ देब्रेपट्टि भएको ‘एडभान्स’ भन्ने अप्सनमा यो टोगल उपलब्ध हुनेछ, जसलाई इनेबल गर्नुपर्नेछ ।त्यसपछि गुगलले सम्पूर्ण नेभिगेशनलाई एचटीटीपीएसमा अपग्रेड गर्नेछ, जसले प्रयोगकर्ताले कुनै पनि साइट लोड गर्नुभन्दा अगाडि चेतावनी दिनेछ । यदि प्रयोगकर्ताले ‘एचटीटीपीएस (ओन्ली मोड’ लाई छलेर कुनै साइटमा जान्छ भने गुगलले त्यो साइट स्वतस् सेभ गर्नेछ र अर्को पटकदेखि सो वेबसाइट प्रयोग गर्दा कुनै पनि चेतावनी सूचना दिँदैन ।

यसका लागि गुगलले अझै पनि काम गरिरहेको छ र यो फिचर क्रोमको ९३ वा ९४ भर्जन सार्वजनिक हुँदासम्म पनि तयार नहुने जस्तो देखिन्छ । गुगलले क्रोमका यी भर्जनहरु सेप्टेम्बरसम्म सार्वजनिक हुने बताएको छ।