कांग्रेसले भन्यो–चौतारीमा राजा भेटिए

प्रकाशित मिति:

मङ्सिर १७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनका क्रममा सरकारले भड्किलो प्रचार गरेर जनतामा भ्रम छर्न खोजेको टिप्पणी गरेको छ । आइतरबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रतिपक्षी कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनु सुखद भएपनि भड्किलो प्रचार शैली अपनाएर सरकारले जनतामा भ्रम छर्न खोजेको टिप्पणी गरेको हो ।

‘‘सामाजिक सुरक्षा कोषको कार्यान्वयनलाई हामीले सुखद र सकारात्मक रुपमा लिएका छौं । यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ,’’ प्रवक्ता शर्माले भने ।
मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझै गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री केपी ओलीको तस्बिर सहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति कांग्रेसको ध्यानाकृष्ट भएको प्रवक्ता शर्माको भनाइ थियो ।

राष्ट्रपतिबाट प्रमाणित भएको मितिले ९१ दिनका दिन लागू हुने व्यवस्था ऐनमा उल्लेख रहेको तथ्यलाई आधार मान्दा राष्ट्रपतिबाट साउन २९ गते ०७४ मा प्रमाणित भएको मितिले गत वर्षकै मंसिर १ गते निर्धारित मिति परेपनि तत्कालिन अवस्थामा निर्वाचनका कारण सुरक्षा कोषको सुरुवात गर्न नसकेको उनले बताए ।

‘‘नयाँ युगकै संज्ञा दिनुपर्ने हो भने संसदमा पेश भएको दिन अथवा पारित भएको दिन अथवा राष्ट्रपतिबाट प्रमाणिकरण भएको दिन अथवा गत मंसिर ११ मा तामझाम गरिएको दिन, अझ यो कार्यान्वयनमा आउन तय गरिएको ०७६ को साउन १ को दिन … । एउटै सन्दर्भमा कतिवटा दिनलाई नयाँ युगको संज्ञा दिने ?। ’’ सरकारले कोष सुरुवातको दिनलाई नयाँ युग भनेको तर्फ इंगित गर्दै प्रवक्रा शर्माले पत्रकार सम्मेलनमा भने, ‘‘त्यसैले नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै हो हाम्रो ठहर छ ।’’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा योगदानमा आधारित समाजिक सुरक्षा ऐन संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणित भएको स्मरण गर्दै कांग्रेसले यसको सफल कार्यान्वयनका लागि पनि सरकारसँग आग्रह गरेको छ ।

श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचारका लागि काठमाडौंका सडकमा रहेका विजुलीका खम्बाहरुम प्रधानमन्त्रीको तस्बिर टाँसिएको विषयलाई कांग्रेसले ‘चौतारीमा राजा भेटिए’ को टिप्पणी गरेको छ । तस्बिर टाँसिएको विषयमा उसले भनेको छ, ‘‘तस्बिर प्रकरणमा हामी सोध्न चाहन्छौँ, यो कस्तो नयाँ युग जहाँ प्रधानमन्त्रीको तस्बिर टोलटोलमा, विजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्बिरसहितको पोष्टर टाँसिदा च्यातिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने ?’’

प्रवक्ता शर्माले सामाजिक सुरक्षा युगको सुरुवात गरेको दिन नयाँ युगको सुरुवात नभएको र उक्त ऐनलाई कांग्रेस सरकारले ल्याएको पनि प्रष्ट पार्न खोजेका छन् । ‘‘नारायण गोपालको गीतको सिडी बजारबाट किनेर ल्याउने, अनि घरमा बजाएर छतमा गएर आफैंले गाएको गीत भनेर छिमेकीलाई सुनाएको सुहाउँदैन,’’ उनले भने, ‘‘यो नयाँ युगको सुरुवात पनि होइन, हाम्रै पालाको सरकारले ऐन ल्याएको हो । एक दशकमा पटकपटक नयाँ युग आउँदैन । नयाँ युग सात सालमा राणा फाल्ने बेलामा, ०४६ सालमा पञ्चायत फाल्ने बेलामा आएको हो ।’’