नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस नेपाल डट ओआरमी वेबसाइटको उद्घाटन

प्रकाशित मिति:

२२ असार, काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको डिजिटल अभिलेख राख्ने उद्देश्यले वेवसाइटको सुरुवात गरेको छ ।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस नेपाल डट ओआरमी   (sportsnepal.org) वेबसाइटको उद्घाटन गरे ।

पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण शुरु भएको हो । यसका लागि ओलम्पिक सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो र यसको औपचारिक सुरुआत पछिल्लो मंसिर १ मै भएको हो ।उद्घाटन कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने बताउँदै नेपाली खेलकुद इतिहास निकै पुराना भएपनि यसलाई अभिलेखीकरण गर्नुपर्ने काम धेरै भएको बताए ।

उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि बताए । यस्तै कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुवात मात्र भएको र यसको निरन्तरता आवश्यक भएको बताए ।यस्तै कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रमको ठूलो महत्त्व रहेको बताए ।कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेबसाइटको विविध पक्षबारे बताएका थिए ।