यूपीएफले प्रदान गरेको पुरस्कार फिर्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको निर्देशन !
मङ्सिर १८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवादस्पद भनिएको संस्थाबाट प्राप्त पुरस्कार फिर्ता गर्न माग गरेको छ । तरुण दलले मंगलबार विज्ञप्ति जारी गरेर विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ) ले प्रदान गरेको पुरस्कार फिर्ता गर्न निर्देशन दिएको छ । ।
यूपीएफले काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई १ लाख डलर नगदको ‘नेतृत्व र सुशासन’ नामको पुरस्कार दिएको थियो । तरुण दलले उक्त संस्थालाई भित्री बाटोबाट सहयोग गरेबापत प्रधानमन्त्री ओलीले नाटक मञ्चन गरेर पुरस्कार प्रदान गरेको दाबीसमेत गरेको छ ।
“प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा विवादास्पद सस्था यूपीएफसँगको संलग्नता गम्भिर त्रुटी र निकै नै रहस्यमय देखिएको छ । उक्त संस्थालाई भित्री बाटोबाट सहयोग गरेबापत प्रधानमन्त्री ओलीले एक लाख अमेरिकी डलरको पुरस्कार लिनु भनेको एउटा नौटंङ्कीमात्र हो,’’ तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘मन्त्रिपरिषद्को स्वीकृति बिना पुरुस्कार ग्रहण गर्नु कानुन विपरित त हुँदै हो, यसका साथै कुनै संस्थाबाट बिना कारण रकम लिनु भनेको खुल्ला कमिसन र भ्रष्टाचार पनि हो ।’’
तरुण दलले काठमाडौंमा भर्खरै सम्पन्न यूपीएफको कार्यक्रमको नाममा भएको खर्चको छानबिन गर्न पनि माग गरेको छ । तरुण दलले कमिसन स्वरूप प्रधानमन्त्रीले पुरस्कार लिएको दाबी गर्दै उक्त रकम तत्काल फिर्ता नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।












