झापा । सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बृहत् मोटरसाइकल र्याली निकालिएको छ ।ओलीनिकट नेपाल खेलकुद महासंघ झापाले सर्वोच्चको फैसलाविरुद्ध शनिबार बृहत् मोटरसाइकल र्याली आयोजना गरेको हो ।
सर्वोच्च अदालतको असार २८ गतेको फैसला पछि केपी ओली नेतृत्वको सरकार विघटन भएको थियो। अदालतमा श–शरीर बहुमत उपस्थित भएर हस्ताक्षर बुझाएका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमत्री बनाउन अदालतले परमादेश जारी गरेको थियो ।सर्वोच्चको देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला एवं राजनैनिक हस्तक्षेपको विरुद्ध ओलीको बहिर्गमनपछि उनको पार्टी नेकपा एमाले र भातृ संगठनहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।
झापाको पश्चिममा दमक तथा पूर्वमा काकरभिट्टालगायत जिल्लाका विभिन्न स्थानबाट एकसाथ सुरु भएको र्यालीमा सयौं युवाको सहभागिता थियो । र्यालीले अदालतले सीमा नाघेर गरेको फैसला अस्विकार गर्ने चेतावनी दिएको छ ।र्यालीपछि बिर्तामोडमा संक्षिप्त कोणसभा आयोजना भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले जनादेश पाएको सरकार गिराएर परमादेशबाट सरकार बनाउन गलत भएको बताएका थिए ।








