मंसिर १८, बुटवल – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले मुलुकमा क्रान्ति पूरा नभएको भन्दै आफूहरू त्यसको तयारीमा लागेको बताएका छन् ।
देशमा विभिन्न परिवर्तन भएपनि राज्यसत्ता पुरानै वर्गले नेतृत्व गरेका शक्तिमा पुगेको भन्दै त्यसविरूद्ध संघर्ष गरी नयाँ जनवादी क्रान्ति स्थापनाका लागि आफूहरू अभियानमा जुटेको दाबी गरे ।
क्रान्तिकारी माओवादीको यहीँ मंसिर १२ देखि १७ गतेसम्म बुटवलको ढवाहामा सम्पन्न बैठकपछि पार्टीले मंगलवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वैद्यले भने, ‘मुलुक अझै अर्धसामन्त, नवउपनिवेशवाद, भारतीय विस्तारवाद र दलालको हातबाट बाहिर आउन सकेन । अब सर्वहारा वर्गको नेतृत्वमा सत्ता स्थापनाका लागि फेरि एक संघर्ष आवश्यक परेकोले हामीहरू त्यसको तयारीमा जुटेका छौं ।’
महासचिव वैद्यले थपे, ‘जनयुद्धमा बलिदान गरेका योद्धाहरूको रगतको आहालमा बसेर गरिएको शान्ति सम्झौताको कुनै अर्थ छैन । अब नयाँ जनवादी क्रान्ति फेरि आवश्यक छ ।’ त्यसको लागि आफूहरू सच्चा क्रान्तिकारीबीच पार्टी गोलबन्द गर्ने अभियानमा पनि लागेको जानकारी गराए । उनले भने, ‘प्रचण्ड र ओली जीले नेतृत्वको गरेको पार्टी कम्यूनिस्ट पनि होइन । अहिले सरकार पनि वामपन्थी पनि होइन । उनीहरूसँग पार्टीसँग गोलबन्द हुँदैनौं । अन्यसँग तयारी गरिराखिएको छ ।’
वैद्यले वर्तमान ओली नेतृत्वको सरकारसँग भिजन नभएको बताए । ‘आफूलाई राष्ट्रवादी भनेर मत पाएका ओलीले सरकारमा पुगेपछि मुलुकका सीमा मिचिँदा, नबोल्नु, नदीनाला, बेच्नु सीमा स्तम्भ फालिँदा समेत मौन बसेर जनतालाई भुलभुलैयामा पारेको छ,’ वैद्यले भने, ‘मुलुकमा भएका उद्योगधन्दा निजीकरण गरिए । व्यापार घाटाले सीमा नाघेको छ । उदारीकरणले र निजीकरणले मुलुकमा समाजवाद आउँदैन । सरकारले आफ्नो धज्जी आफै उडायो ।’
नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बुटवलमा सम्पन्न बैठकले सशक्त आन्दोलन गर्नेसहित ६ बँुदे निर्णण गरेको छ । ६ दिने बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, हत्या, हिंसा, बलात्कार, भ्रष्ट्राचार, करवृद्धि सीमा अतिक्रमण लगायतका विषयलाई लिएर देशव्यापी सशक्त संघर्ष गर्नेदेखि विभिन्न दिवस मनाउनेसम्म निर्णय गरिएको केन्द्रीय सदस्य परी थापाले जानकारी दिए ।
@lokaantar












