कालीगण्डकी डाइभर्सनसँग सम्बन्धित सबै मुद्दाको एकसाथ सुनुवाइ हुने

प्रकाशित मिति:

काठमाडौं, साउन २२- सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित सबै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको बिहीबारको इजलासले सबै मुद्दालाई एकै इजलासमा राखेर अन्तिम सुनुवाइ गर्न आदेश गरेको हो। बिहीबार पुर्ण इजलासले अधिवक्ता आतिश कार्की निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । कालीगण्डकी डाइभर्सनसम्बन्धी ३ थान निवेदन सर्वोच्चमा विचाराधीन रहेका छन् ।

यसअघि साउन ४ गतेको न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश हरि फुयाँलको इजलासमा मुद्दाका सन्दर्भमा न्यायाधीशको राय बाझिएको थियो। दुई न्यायाधीशको इजलासमा राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा गएको थियो। पुर्ण इजलासले अन्य इजलासमा छरिएका मुद्दालाई एकीकृत गरेर सुनुवाइ गर्ने आदेश गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको असार २९ गतेको एकल इजलासले कालीगण्डकी डाइभर्सनका कुनै पनि कार्य तत्काल अगाडि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।