काठमाडौँ । मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ ।अहिले प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद्ले जनाएका छन् । गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको छ । बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ ।
अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । यसकै कारण देशका सबैजसो क्षेत्रमा पानी पर्ने छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । मनसुन भित्रिएको सुरुमा नै बाढी पहिरोको घटना बढेको थियो । सबैभन्दा धेरै बाढी पहिरोले सिन्धुपाल्चोक र मनाङमा नोक्सानी गरेको छ । नेपालमा जेठ २८ गते मनसुन भित्रिएको थियो ।









