विज्ञ भन्छन्- मेलम्ची जोखिममै छ, फेरि बाढीपहिरो जान सक्छ

प्रकाशित मिति:

मेलम्चीमा पुनः बाढीपहिरो जान सक्ने विज्ञहरूले बताएका छन् । मेलम्ची नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरूले उक्त क्षेत्रमा फेरि पनि बाढीपहिरो जान सक्ने औँल्याएका हुन् । विज्ञहरूका अनुसार भेमाथाङमा जम्मा भएको डेब्रीज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको बताएका छन् ।मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत् स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको छ ।

विभागले गत साउन २२ गतेबाट अध्ययन शुरू गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालिएको विभागका वरिष्ठ डिभिजनल जियोलोजिष्ट शिव बास्कोटाले जानकारी दिए ।‘भेमाथाङभन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थानमा बाढीले पुरिएर चौर नै भरिएको थियो जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ भूगर्भविद् बास्कोटाले भने, ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर भेमाथाङमा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसपासको क्षेत्रमा पहिरोहरू धेरै गएको देखिन्छ ।’

उनले त्यसभन्दा माथि अझै पहिरोहरू बगीरहेकाले जोखिम उत्तिकै रहेको बताए । उनले भने, ‘मनसुन अवधिभर जुनसुकै समयमा फेरि बाढी आउन सक्छ ।’उनका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रान मात्रै १५ लाख ट्रकभन्दा बढी छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने उनको भनाइ छ ।हिमतालहरुको अध्ययन गरिरहेका अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०का इन्जिनियर अरुणभक्त श्रेष्ठले भेमाथाङमा जम्मा भएको गेग्रान र त्यसभन्दा माथिको पहिरोहरू अस्थिर रहेकाले तल्लो तटीय क्षेत्रमा अझै बाढी पहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको बताए ।

‘ताउते र यास सामुद्रिक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ परेको थियो । त्यो सबै पग्लिएपछि बाढी पहिरो गएको देखिन्छ,’ उनले भने, ‘८ हजार ८ ७० क्यूविक मिटरको ताल रहेकोमा अहिले त्यो ताल देखिँदैन । ७० हजार वर्ग मिटर क्षेत्रमा परेको हिउँ उष्णीकरणका कारण पग्लिएको पाइएको छ । यसलाई जलवायु परिवर्तनको असरको रुपमा पनि लिन सकिन्छ ।’

काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा। रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनु पर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरुमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको बताए ।काठमाडौं विश्वविद्यालयकी एशोसियट प्रोफेसर डा। रेश्मा श्रेष्ठले जोखिम न्यूनीकरणका उपायहरू अपनाउनु पर्ने बताइन् । उनले जोखिम न्यूनीकरणका लागि सबै निकायले विशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।यस्तै सिनियर भूगर्भविद् विशालनाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।नेपाल वातावरण पत्रकार समूहले आइतवार बहस गरेको थियो ।