भदौ , ५ प्यूठान- भाद्र ४ गते दिउसो चलिरहेको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका स्वर्गद्वारी नगरपालिका ४ भिङ्ग्री प्यूठानका ४६ वर्षीय पुनाराम योगीको उपचारको क्रममा मृत्यु भएको छ । भिङ्ग्रीदेखी चकचके तर्फ जादै गरेको स्वर्गद्वारी नगरपालिका ७ का २२ वर्षीय संगम भट्टराईले चलाएको मोटर साइकलले रोल्पा भालुबाङ सडक खण्ड अन्तर्गत तल्ला भिङ्ग्रीमा योगीलाई ठक्कर दिदा उनी बाटोमै ढलेर टाउकोमा गहिरो चोट लाग्दा गम्भीर घाइते भएका थिए । घाइते योगीको उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
तत्काल अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि शल्यक्रियाका लागि बुटवलकै अर्को अस्पताल लगिएका योगीको उपचारकै क्रममा ४ गते राती नै मृत्यु भएको इलाका कार्यालय भिङ्ग्री प्यूठानका प्रमुख बुद्धी रानाले जानकारी दिए । मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई जिल्ला प्रहरी कार्यालय खलंगा प्यूठानमा बुझाइएको रानाले बताएका छन ।









