जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहायता दिने सरकारको निर्णय

प्रकाशित मिति:

काठमाडौं, भदौ १० –  दार्चुलामा तुइनबाट महाकाली तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय गरेको हो । यस्तै, अति कम विकसित राष्ट्रहरूको उच्चस्तरीय एसिया प्रशान्त क्षेत्र पुनरवलोकन बैठकमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागी हुने सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गरेको छ ।

विद्युत प्राधिकरणको मैनादिया–सम्पतिया १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत केन्द्र रेखाबाट नौ मिटर दायाँ–बायाँमा पर्ने निजी जग्गा र संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्यहरू तोकिएको छ ।विश्व खाद्य कार्यक्रममा नेपालको तर्फबाट दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा डा। शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाइने भएको छ ।राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गरिएको छ । यस्तै, नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्यन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गरिएको छ ।